• १५ फागुन २०८१, बिहिबार

प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु

blog

राजकुमार भट्टराई

खोटाङ, फागुन १५ गते । खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहीबार सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको हो । 

सम्मेलनको दिक्तेलस्थित कभर्डहलमा औपचारिक उद्घाटन गरिएको छ । नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रम स्थल र बाँसकै स्टलहरु निर्माण गरिएको छ। 

सम्मेलनमा बाँसजन्य सामाग्री, स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्न परिकार प्रदर्शनका लागि ५१ वटा स्टल राख्ने तयारी आयोजकले गरेको छ । सम्मेलनको पहिलो दिन सबै स्टलहरु भरिएका छैनन् । यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ, रोटेपिङको व्यवस्था पनि गरिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । 

मन्त्री शाही ठकुरीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरु, प्रदेशका मन्त्री र साँसदहरु, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि संघ संस्थाका प्रमुखहरु, जिल्लासँगै जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरुकाे उपस्थिति छ । जिल्ला बाहिरबाट मात्र ३ सयभन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति रहने बताइएको छ । बाँस सम्मेलनमा विज्ञहरुबाट २३ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।

मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छ । आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएशन ललितपुर छन् ।

बाँसको प्रवर्द्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।