• १४ फागुन २०८१, बुधबार

गलेश्वर शिवालयमा दर्शनार्थीको भीड

blog

गलेश्वर शिवालय मन्दिरमा दर्शनका लागि आएका भक्तजनहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १४ गते ।
बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बुधबार बिहानदेखि नै गलेश्वर शिवालय मन्दिरको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुको भीड लागेको हो ।

म्याग्दीका साथै बागलुङ, पर्वत र पोखराबाट समेत भक्तजनहरु पूजाआजाका लागि आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । पूजाआजालाई व्यवस्थित बनाउन कोषले स्वयमसेवकहरु परिचालन गरेको छ ।


पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधामको दर्शनमा आएका भक्तजनहरु लामबद्ध भएर पूजाआरधाना गरेका छन् । पूजालाई व्यवस्थित बनाउन गलेश्वर शिवालयले कोषका पदाधिकारी, सदस्य साथै सुरक्षाकर्मीहरु पनि परिचालन गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज करिब दश हजार भक्तजनहरुले गलेश्वर धामको दर्शन गर्ने अनुमान गरिएको छ । 

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।


महाशिवरात्रि पर्वलाई भव्य र सभ्यरूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको कोषले जनाएको छ । यसैगरी म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि बुधबार बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनलाई सहजरूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।