• १४ फागुन २०८१, बुधबार

खोटाङको जङ्गलमा महिला र पुरुष मृत फेला

blog

राजकुमार भट्टराई
खोटाङ, फागुन १४ गते ।
खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।  वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।

डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ ।

सोही गाउँका अन्दाजी १९÷२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् ।

मृत भेटिएकी महिला विवाहित हुन् । उनको दुई वर्षको छोरीसमेत रहेको बताइएको छ । पुरुष भने अविवाहित हुन् । घटना के कसरी घटेको भनेर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

स्थानीय प्रहरी चौकीले घटना स्थललाई सुरक्षित गरेर राखेको छ । हाल डिएसपी प्रतिक बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी घटना स्थलमा जाँदै छ । घटना स्थलमा पुगेर अनुसन्धान भएपछि थप कुरा थाहा हुने डिएसपी बिष्टले बताउनुभयो । 

मृत भेटिएका महिला र पुरुष दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए । धारिलो हतियार घाँटीमा प्रहार भएर मृत अवस्थामा भेटिएकी महिलाको कम्मरमा नाम्लोडोरीसमेत रहेको स्थानीयले बताएका छन् । पुरुषले महिलाको हत्या गरेर आफुले आत्महत्या गरेजस्तो देखिए पनि घटनाको विस्तृत खुल्न बाँकी रहेको स्थानीयले बताएका छन् ।