• ३ असार २०८१, सोमबार

कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम

blog

नविन सुवेदी

सुर्खेत, जेठ १६ गते । मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।

गतवर्ष मङ्सिरमा ८ सय ९४ टन आएको युरिया मल चैतमै सकिएको छ । कर्णालीका केही जिल्लामा धान रोप्न शुरु गरिएको छ भने केही जिल्लामा कृषकहरु धानको विऊ (ब्याड) राख्न व्यस्त छन् । समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने सुर्खेतका कृषक जगत महतराले चिन्ता व्यक्त गर्नुभयो । उहाँले समयमै युरिया मलको ढुवानी गरेर कृषकलाई राहत दिन माग गर्नुभयो ।

कर्णालीको जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लामा रासायनिक मल प्रयोगमा रोक लगाइएको छ । तर दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमका कृषकहरुले मात्रै रासायनिक मलको प्रयोग गर्दैआएका छन् । यी जिल्लामा पोटास र डीएपीभन्दा युरिया मल बढी खपत हुनेगरेको छ । सल्यान र रुकुम पश्चिममा दाङ तथा बाँकी तीन जिल्लामा सुर्खेतबाट मल आपूर्ती गर्दैआएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमुल्यलाल श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष आएको युरिया मल चैतमा सकिए पनि थप मल आउने वा नआउने विषयमा केही जानकारी नभएको चर्चा गर्नुभयो । सहकारी संस्थामार्फत वितरण गरिँदैआएको मल गोदाममा नहुँदा कृषकहरुले दिनहुँ युरिया मल कहिले आउँछ भन्दै सोध्नेगरेको उहाँको दुःखेसो छ । 

कर्णालीका १०८ सहकारी संस्थासँग सम्झौता गरेर मल विक्री गर्ने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।  हाल डीएपी र पोटास मल विक्री भइरहेको उहाँले जानकारी दिनुभयो । कर्णालीमा वितरण हुने ७० प्रतिशत मल कृषि सामग्री र ३० प्रतिशत साल्ट टे«डिङ्ग कर्पोरेशनले वितरण गर्दैआएको छ । 

अहिले दुवै कार्यालयमा युरिया मल छैन । कर्णालीको तीन लाख हेक्टर कुल खेतीयोग्य जमिनमध्ये दुई लाख १६ हजार हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । योमध्य ३८ हजारमा वर्षभरि र ३० हजार हेक्टर जमिनमा आंशिक सिँचाइ पुगेको छ ।