• १४ फागुन २०८१, बुधबार

कीर्तिमान

गिनिज वर्ल्ड रेकर्डमा अर्पण

blog

गिनिज वर्ल्ड रेकर्डमा संसारकै तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा झापाका ३५ वर्षीय अर्पण शर्माको नाम लेखिएको छ । उहाँले २०७२ असोज ९ गते एक मिनेटमा ४२ वटा वस्तु सम्झिएर तेज स्मरणशक्ति भएको प्रतिभाका रूपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनुभएको हो । उहाँले भारतका जयसिम्हा रभिरालाको कीर्तिमानलाई तोड्नुभएको थियो । रभिरालाले एक मिनेटमा ४० वस्तु सम्झिने कीर्तिमान राख्नुभएको थियो । अर्पणले २०७९ जेठ २० गते एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर पनि आफ्नो क्षमता देखाउनुभएको छ । यो प्रमाण वल्र्ड बुक अफ रेकर्डमा सुरक्षित छ । अर्पणको विद्यालय तहदेखि नै तेज स्मरण शक्ति थियो । उहाँले स्मरण शक्तिका लागि दायाँ र बायाँ दिमाग एकसाथ चलाउने क्षमता आफूसँग भएको बताउनुभयो । दायाँ दिमागले पुस्तक पढ्दा उहाँ बायाँ दिमागले गीत गाउने क्षमता राख्नुहुन्छ । 

अर्पणले कक्षा ७ मा पढ्दा गिनिज अफ वर्ल्ड रेकर्डको नाम सुन्नुभएको थियो । २०७० सालमा बिबिएस दोस्रो वर्षको परीक्षा तयारीमा साथीसँगको प्रतिस्पर्धाले उहाँलाई गिनिज बुकसम्म पुर्‍यायो । साथीले ३० वटा शब्द कसले चाँडो कण्ठ गर्न सक्छ भनेर प्रतिस्पर्धा सुरु गरेपछि अर्पणले एक मिनेटमै त्यति शब्द सुनाउनुभएको थियो । अर्पणले शब्द कण्ठ पारेको देखेर साथी छक्क पर्नुभयो । साथीले गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न सुझाव दिनुभयो । त्यसपछि गिनिज बुकका लागि अर्पणले निवेदन दिनुभयो । गिनिज बुकले सोका लागि अनुमति प्रदान गर्‍यो । उहाँले दमकको एउटा बन्द कोठामा राखिएका ४२ वटा वस्तु एक मिनेटमा याद गर्नुभएको थियो । यसरी याद गरेको भिडियो र फोटो गिनिज बुकको मुख्य कार्यालय लन्डनमा पठाउनुभयो । गिनिज बुकको समूहले १३ महिना लगाएर अध्ययन गर्‍यो र सर्वाधिक तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा उहाँको नाम समावेश गर्‍यो ।

अर्पणले विद्यालयमा पढ्दादेखि नै हरेक दिन लामो समयसम्म योग र ध्यान गर्नुहुन्थ्यो । “योग र ध्यानबाट शरीरमा मात्र नभई दिमागमा पनि ऊर्जा प्राप्त हुन्छ” उहाँले भन्नुभयो । हाल उहाँले योग र ध्यानसँगै स्मरणशक्तिका विभिन्न तरिका सिकाउँदै आउनुभएको छ । उहाँले स्मरण शक्ति बढाउने सूत्र सिकाउनुहुन्छ। उहाँले सरकारी जागिरमा प्रवेश गर्न चाहनेको तयारी कक्षालाई पनि पढाउनुहुन्छ । अपर्ण २०४६ सालमा जन्मिनुभएको हो । उहाँका बुवाको नाम मोहन शर्मा कट्टेल र आमाको नाम खिना हो । 

गिनिज वर्ल्ड रेकर्ड के हो ?

गिनिज वर्ल्ड रेकर्ड अन्तर्राष्ट्रिय संस्था हो । यसको सुरुवात सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनबाट भएको हो । यसले विश्वभर फरक प्रतिभा भएका व्यक्तिको कीर्तिमानको विवरण (रेकर्ड) राख्ने र प्रमाणपत्र दिने काम गर्छ । यसले संसारका धेरै प्रकारका रेकर्डलाई समेट्छ । छोटो समय, लामो समय, सबैभन्दा ठुलो, सबैभन्दा सानो, सबैभन्दा छिटो, अत्यधिक मानवीय क्षमता जस्ता विभिन्न श्रेणीका रेकर्ड समेटिएका छन् । यसले मांसपेशीको क्षमता, पृथ्वीका अनौठा प्राणीको आकार, विश्वका सबैभन्दा महत्वपूर्ण खेलकुद र उत्पादनको रेकर्डलाई समेत राख्ने गरेको छ । गिनिज वर्ल्ड रेकर्डमा धेरै नेपालीले नाम लेखाएका छन् । पर्यटन, खेलकुद, अन्तर्वार्ता, हिमाल आरोहण, फिल्म निर्देशन, योगाशन, फोटोग्राफीलगायत विभिन्न विधामा रेकर्ड बनेका छन् ।    

   मुना