• १४ फागुन २०८१, बुधबार

सुदूरपश्चिमको विद्युत् अवरोध हट्यो, स्थानीय हर्षित

blog

कर्णाली प्रदेशमा आपूर्तिका लागि तयार भएको अछाम कमलबजार को ३३ केभिको सभ-स्टेसन । तस्बिर : प्रेमराज

प्रेमराज सिम्खडा   

कालीकोट, फागुन १४ गते । स्थानीयले अवरोध गरेको ३३ केभी बिद्युत् बिस्तारको काम अवरोध हटेसँगै सुचारु भएपछि कालीकोट, जुम्ला र मुगुका नागरिकले सहज बिद्युत् पाउन थालेका छन् । कर्णाली प्रदेशका जिल्लामा बिद्युत् आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशबाट लाइन बिस्तार भएर बिद्युत् प्रवाह भएपछि यहाँका नागरिकलाई बिद्युत् सेवा लिन सहज भएको हो । 

कोहलपुर सुर्खेत हुँदै साबिकको कर्णालीका जिल्लामा आपूर्ति गरिएको बिद्युत्को क्षमता कमजोर भएकाले बत्ती आउने जाने भइरहेको थियो । गत हप्ता देखि सुदूरपश्चिमको ३३ केभी प्रसारण लाइन जडान भएपछि बिद्युत् सेवा सहज भएको स्थानीयको भनाई छ । मान्ममा मोबाइल पसल गदै आउनु भएका मनि राज पाण्डेले दिनमा सयाैँ पटक आउने र बन्द हुने बिद्युत्को समस्या अहिले हल भएको बताउनुभयो । उहाँले दिनमा कहिले कासो झ्याप्प गए पनि उति नै बेला बिद्युत् सुचारु हुँदा काम गर्न धेरै सहज भएको सुनाउनुभयो । 

अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गर्दा कर्णालीका तीन जिल्लाको बिद्युत् बिस्तार योजना केही ढिलो भएको थियो । सबै तिरको संवादले सार्थकता पाएपछि बिद्युत् बिस्तार पुन सुचारु भएर औपचारिक रूपमा ३३ केभी लाइन कर्णालीमा आपूर्ति भएपछि यहाँका नागरिकले उज्यालो पाएका छन् । 

बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेखबाट आएको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज कम भएकाले जाडो सिजनमा बत्ती नपुग्ने समस्या अब समाधान भएको छ । यो समस्या समाधानका लागि गत वर्ष असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो । कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले कमलबजारबाट साइखोलासम्मको ९ किमि तार तान्ने काम सकिएपछि कोहलपुरको लाइनको ठाउँमा सुदूरपश्चिमबाट आएको ३३ केभी लाइन जडान गर्दा सेवाग्राहीलाई सहज भएको सुनाउनुभयो । 

कालीकोट वितरण केन्द्रका फोनमेन जयाप्रसाद पाण्डेले कमलबजारको बिद्युत् आपूर्ति भएसँगै कालीकोटका बिद्युतीकरण भएका गाउँका नागरिकले चाहेको बेला बिद्युत् सेवा पाउन थालेको बताउनुभयो । अब नागरिकले खासै बत्ती कता गयो भनेर फोन गर्नुहुँदैन ।कहिलेकहीँ अत्तरिया, डडेलधुरा तिरै समस्या आएमा मात्र बिद्युत् प्रसारण अवरोध हुन्छ नत्र भने सदा भार चलिरहँदा नागरिकको गुनासो कम आउने गरेको पाण्डेको भनाई छ । 

कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार आएको ३३ केभी लाइनबाट कालीकोट, जुम्ला हुँदै मुगुसम्म लाइन सुचारु भएको जनाएको छ । डडेलधुरा–अत्तरिया हुँदै चमेलिया जलविद्युतको १९ मेगावाट, बझाङ कलंगा खोलाको ६५ मेगावाट र अपी हाइड्रोको ५ मेगावाट लगायत करिब १०० मेगावाट विद्युत् आयात हुने गरेको छ । ३३ केभी लाइन थपिएसँगै कालीकोटमा बिद्युतीकरण भएका गाउँमा बिद्युत् आपूर्ति सहज भएको छ । यसले जुम्ला र मुगुलाई पनि राहत भएको छ ।