• ३ असार २०८१, सोमबार

घाइते वडा सभापति भण्डारीलाई सुर्खेत लगियो

blog

राजन रावत

हुुम्ला, जेठ १६ गते । नेपाली कांग्रेस अदानचुली गाउँपालिका– २ का वडा सभापति रतन भण्डारी कुटपिटबाट गम्भीर घाइते हुनुभएपछि उपचारका लागि उहाँलाई जिल्ला बाहिर सुर्खेत रिफर गरिएको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा उहाँको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले उहाँलाई जिल्ला बाहिर रिफर गर्नुभएको हो । 

स्वास्थ्य चौकीमा उपचार गरिए पनि घाईतेको स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई उपचारका लागि स्वास्थ्यकर्मीको सुझावअनुसार उहाँलाई सुर्खेत लगिएको हो । उहाँको शरीर र टाउकोमा गम्भीर चोट लागेको अदानचुली स्वास्थ्य चौकीले जनाएको छ । 

शनिवार बेलुका गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएको लोकेन्द्र भण्डारी पक्षले वडा सभापति भण्डारीलाई कुटपिट गरेको थियो । यसअघि उक्त वडाका सभापति हरिचन्द्र भण्डारीले निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै शनिवार वसेको कांग्रेस अदानचुली गाउँपालिका कार्यसमितिको बैठकले निजलाई कारवाही गरेर उहाँको स्थानमा घाईते भण्डारीलाई वडा सभापतिमा मनोनयन गरेको थियो । 

सोही रिसमा बेलुुका निष्कासित वडा सभापति भण्डारी पक्षले मनोनीत सभापति भण्डारीलाई गम्भीर घाईते हुनेगरी कुटपिट गरेको कांग्रेस अदानचुलीले जनाएको छ । घाइतेलाई उपचारका लागि गाडीमा जिल्ला बाहिर पठाएको र घटनामा संलग्नलाई आवश्यक कारवाहीको माग गरिएको छ  । कुटपिटमा संलग्नलाई उजुरीका आधारमा कारवाही गर्ने प्रहरीले जनाएको छ ।