• १२ असार २०८१, बुधबार

विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, जेठ १६ गते । मानवअधिकार तथा शान्ति समाजले  ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानवअधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०७९ मङ्सिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार रूपियाँ पुरस्कार राशी र सम्मानपत्रसहित उहाँलाई पुरस्कृत गरिनेछ ।

तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका विनोद पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसक्नुभएको छ ।

पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष , नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल (२०५३–५८)मा सभापति रहिसक्नुभएको छ ।