राजन रावत
हुम्ला, फागुन १३ गते । हुम्ला जिल्लाका आठ सय भन्दा बढी व्यवसायी र फर्म लगायतका संस्था व्यक्तिहरू कर नतिर्नेमा परेका छन् । संस्था, फर्म र व्यवसाय दर्ता गर्ने र त्यसपछि नवीकरण नगरेको कारण उनीहरू कर नतिर्ने लिस्टमा कर कार्यालयले राखेको हो ।
जिल्लाभर दर्ता नभएर नवीकरण नगरी कर नतिर्ने सङ्ख्या ८८३ रहेको उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । यो कर भ्याट र प्यान रहेको छ । यसरी हालसम्म कर नतिर्नेमा व्यक्तिगत फर्म, गैरसरकारी संस्था, सरकारी संस्था, गुम्बा, व्यवसाय, सामूहिक फर्म रहेका छन् । २०६० सालमा दर्ता भएर हालसम्म नवीकरण नभएका संस्थाहरू पनि रहेको परिपत्र कर कार्यालय सुर्खेतबाट सङ्घमा आएको उहाँले बताउनुभयो ।
पछिल्लो समय विभिन्न सरकारी कार्यालयहरूमा अनुदान लिनका लागि फर्म दर्ता गर्ने तर त्यसलाई नवीकरण नगर्ने सङ्ख्या बढी रहेको छ । काम नगरे पछि त्यस्ता फर्म तथा संस्था, व्यवसायलाई रद्ध नगर्नाले पनि हुम्ला जिल्लाका ठुलो सङ्ख्यामा कर नबुझाउने सङ्ख्या देखिएको हो । कर कार्यालयले हालसम्म कर नतिर्नेहरूका लागि कर छुटको व्यवस्था ल्याएको ।
फागुन मसान्तसम्म नवीकरण गरेर कर बुझाउन सबैका लागि छुटको अवधि राखेको कारण आआफ्ना व्यवसाय नवीकरण उहाँले आग्रह गर्नुभयो । राज्यले कुनै पनि बेला यसरी छलिएको कर लिने भएको कारण समय मै प्राप्त अवसरलाई नगुमाउन अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो