चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङमा सोमबार राति बाक्लो हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । जिल्लामा पाँचौँ पटक हिमपात भएको हो ।
जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) सहित उच्च हिमाली भेगमा सेताम्मे हिमपात भएको छ । जिल्लाको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् छ ।
ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार ओलाङ्चुङगोलासहितका हिमाली बस्तीमा यस वर्षकै बाक्लो हिउँ परेको छ । घुन्साका पेमा शेर्पाले पनि यस वर्ष हालसम्मकै बाक्लो हिमपात भएको बताउनुभयो । शेर्पाका अनुसार घुन्सा र फलेमा झन्डै आधा फिटसम्म हिउँ परेको छ । केही दिनयता निरन्तरको हिमपातका कारण निकै चिसो मौसम रहेको उहाँले बताउनुभयो ।
यस्तै सोमबार राति वर्षासँगै मैवाखोला गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, मिक्वाखोलाको तोक्पेगोला क्षेत्र, फक्ताङ्लुङको मानाभरा, सिदिङ्वाको तिम्बुङ पोखरी र सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनसहित माथिल्लो भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । यता तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा करिव एक फिटसम्म हिउँ थुप्रेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा धाम र सो क्षेत्रको माथिल्लो फेदी र तल्लो फेदीसम्म बाक्लो हिउँ परेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । त्यस्ते सदरमुकाम फुङ्लिङ बजार नजिक सुकेटार र हाङ्देवाको बुङ्कुलुङ क्षेत्रसम्म नै सामान्य हिउँ परेको छ । बुङ्कुलुङका स्थानीय पासाङ रिता शेर्पाका अनुसार सोमबार साँझको वर्षासँगै बुङ्कुलुङमा सेताम्मे हिउँ परेको छ । यस वर्ष बुङ्कुलुङ र सुकेटार नजिकसम्म पहिलो पटक हिउँ परेको हो ।
जिल्लामा बाक्लो हिमपात भएपछि चिसो निकै बढेको छ । यता लामो खडेरीपछि वर्षा र हिमपात हुँदा जिल्लाका किसान भने हर्षित भएका छन् । नगदे बाली अलैँची, फलफूल र हिउँदे बालीका लागि वर्षाले राहत पु¥याएको किसानको भनाइ छ । त्यस्तै मकै बाली गाउने बेलामा वर्षा भएकाले मकै बाली लगाउन र लगाई सकेको मकै बाली उम्रिनलाई सहज भएको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान हस्त पौडेलले बताउनुभयो ।