चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु भएको केबुलकारको विरोध गर्दैआएको पक्षलाई सरकारले वार्तामा बोलाएको छ । केबुलकार योजना निर्माणको काम हाललाई स्थगित गरी सरकारले नो केबलकार पक्षलाई वार्ताका लागि आह्वान गरेको हो ।
सरकारको तर्फबाट गृह मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गर्दै नो केबलकार समूह अर्थात केबुलकारको विरोध गरिरहेको आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या समाधान वार्ताको माध्यमबाट खोज्न सरकारले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको हो ।
सरकारी वार्ताटोलीका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार पाथीभरा केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने र वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरिएको छ । सरकारले गत माघ १० गते गृह मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो ।
केबलकार निर्माणको विषयलाई लिएर द्वन्द्व बढ्दै गएपछि ताप्लेजुङ अशान्त बन्दैगएको छ । पछिल्लो समय नो केबलकार समूहको आन्दोलनले जिल्लाको परिस्थिति असमान्य बन्दै गएपछि स्थानीय प्रशासनले आइतबारदेखि सदरमुकाम फुङ्लिङ र पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्लाको परिस्थितिलाई हेरेर निषेधाज्ञाबारे थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।