• १२ फागुन २०८१, सोमबार

साहित्यकार प्रेम छोटालाई एक लाख राशीको अन्तर्राष्ट्रिय पुरस्कार

blog

रामकृष्ण बोहरा

बागलुङ, फागुन १२ गते । कालिभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार यसवर्ष बागलुङका साहित्यकार प्रेम छोटालाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपियाँ छ ।

नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने, कृतिहरू प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार–प्रसार र विकासमा योगदान पुर्‍याएको भन्दै पूर्व प्राज्ञसमेत रहनुभएका छोटालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष प्राडा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै सञ्चारमाध्यम र साहित्यमार्फत योगदान पुर्‍याएको भन्दै ओमबहादुर भण्डारीलाई १० हजार, पर्वतको फलेवास नगरपालिकास्थित शारदा माविका छात्रा सोनिया पौडेल, लिमिठाना माविका सुस्मा सुनार र फलेवास–६ का अनिता नेपालीलाई जनही आठ हजार रुपियाँसहित पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले यसवर्षको महिला सम्मान फलेवासकी ९० वर्षीया ज्येष्ठ नागरिक बेणुका पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार आगामी फागुन १८ गते लोकसाहित्य र लो संस्कृतिका स्रष्टा कालिभक्त पन्तको ३३ औं स्मृति दिवसका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।