• १० फागुन २०८१, शनिबार

मौलिक संस्कृती प्रवर्धनमा केन्द्रित आदिवासी सांस्कृतिक महोत्सव

blog

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा सम्पन्न भएको आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, फागुन १० गते ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाति भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो ।

गाउँपालिकामा रहेका आदिवासीहरूको भाषा, संस्कार, संस्कृतिको प्रवर्धन र संरक्षणका लागि जोड दिँदै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । आदिवासी जनजातिहरूको प्रथाजनित कानुनहरुको संरक्षण, संस्कृतिको उत्थान, प्रवर्धन र सम्वर्धन गर्दै पहिचान र सभ्यतालाई उजागर गरी सशक्तीकरणको माध्यमबाट राज्यमा समान पहुँच स्थापना गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्को आयोजनामा फागुन ७ देखि ९ गतेसम्म महोत्सवको सञ्चालन भएको आयोजक समितिका अध्यक्ष कमलकृष्ण तामाङले बताउनुभयो । महोत्सवमा सांस्कृतिक प्रवर्धन र पुस्तान्तरणका लागि मौलिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । शेर्पा, सुनुवार र तामाङ समुदायका सहभागीहरू बिच पराम्परागत सांस्कृतिक लोक नृत्य प्रतियोगिता सञ्चालन भएको थियो ।

शेर्पा समुदायतर्फ बुद्ध युवा क्लब दोराखर्क प्रथम, थोलेदेमबा शेर्पा किदुक दोस्रो, नेपाल शेर्पा विद्यार्थी सङ्घ ओखलढुङ्गा तेस्रो र ताउर स्याप्टु समूह, थोलेदेम्बा शेर्पा किदुक लेती साथै नेपाल शेर्पा सङ्घ ओखलढुङ्गा सान्त्वना भएका छन् । शेर्पा समुदायको छ समूह बिच मौलिक सांस्कृतिक नृत्यमा प्रतिस्पर्धा भएको थियो । तामाङ समुदायतर्फ ओखलढुङ्गा सेवा समाज प्रथम, सुनकोशी ककनी समूह दोस्रो, मुलखर्क तामाङ समूह तेस्रो साथै साङ्देन फ्याफुल्ला गठी, जोङ तम्बाखोर ओखलढुङ्गा सान्त्वना भएका छन् । तामाङ समुदाय बाट पाँच समूह सहभागी भएका थिए । 

यसैगरी सुनुवार समुदायतर्फ खिजी चण्डेश्वरी प्रथम, उमाकुण्डा गाउँपालिका प्रिति रामेछाप दोस्रो, खिजी कात्ती तेस्रो साथै खिजी चण्डेश्वरी, खिजी देम्बा रगनी र खिजी फलाटे सान्त्वना भएका छन् । सुनुवार समुदायबाट प्रतियोगितामा छ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएकाले क्रमशः नगद ५१ हजार, २५ हजार, १५ हजार र आठ हजारको साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

महोत्सवको उद्घाटन समारोहमा शेर्पा, तामाङ, सुनुवार, गुरुङ, मगर, भुजेल र नेवार समुदायले झाँकी प्रदर्शन गरेको आदिवासी जनजाति महासङ्घ गाउँपालिका समन्वय परिषद खिजीदेम्बाका सचिव कुसाङ शेर्पाले बताउनुभयो । महोत्सवको अवसरमा आदिवासी जनजातिहरूको भाषा, संस्कार, संस्कृति संरक्षणका विषयमा छलफल भएको थियो ।