कोकिला ढकाल
इलाम, फागुन १० गते । मेची राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको सूर्याेदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुवा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
झापाबाट प्रदेश १–०३–००१ प. १५८५ नम्बरको मोटरसाइकलमा फाजीगाउँ फर्किंदै गर्दा विपरीत दिशाबाट आएको को. १ ख. ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवैजना गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचार क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलामको माईजोगमाई गाउँपालिका २ का टिप्पर चालक ३० वर्षीय खगेन्द्र थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।