सल्यान जिल्ला सदरमुकाम खलङ्गाबाट दुई घण्टा उकालो पदयात्रापछि खैराबाङ भुवनेश्वरी मन्दिर पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार छ सय फिट उचाइमा रहेको मन्दिर सल्यान सदरमुकाम खलङ्गादेखि १६ किमी पूर्वी दक्षिण हिवल्चाको खैराबाङमा पर्दछ । सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भम्रण गर्दा देवीको अङ्ग पतन भएको स्थान नै खैराबाङ रहेको विश्वास स्थानीयको छ । शारदा नगरपालिका–११, हिवल्चामा अवस्थित सो मन्दिर पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट सवारीसाधनमा ३० मिनेट लाग्छ । सदरमुकाम खलङ्गाबाट सवारीसाधनमा एक घण्टा लाग्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मङ्गलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनको घुइँचो लाग्ने बताइन्छ । बडादसैँ र चैतेदसैँमा बर्सेनि हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । भवानी भुवनेश्वरीले मनले चिताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा राँगा, भेडा, बोका, कुखुराको बलि चढाउने गरिन्छ ।
खैराबाङ भुवनेश्वरी उत्पत्तिका सन्दर्भमा एउटा किंवदन्ती प्रचलित छ । किंवदन्ती अनुसार एउटी युवती कहिले बाघमा चढेर देखिने त कहिले अदृश्य हुने गरेकाले के रहेछ भनी खोजतलास गर्दै जाँदा जङ्गलको टाकुरामा एउटा भुन (प्वाल) भेटियो जुन प्वालको गहिराइ ठम्याउन सकिएन । सोही टाकुराको पश्चिमतिर हेर्दा एउटा तरबार पनि भेटियो । खोजतलासमा संलग्न एक बुढाथोकीलाई त्यसै रात सपनामा ती युवतीले भनिन्, “म पाटेश्वरी कालिका हुँ, मेरो पूजा गर्नू । धेरै कालसम्म मैले दुःख पाएँ ।” त्यसपछि प्वालसँगै रहेको बाँझको फेदमा पूजा गर्न थालियो । पछि विसं १४७७ सालमा फाल्गत्त उपाध्यायबाट मन्दिर निर्माण गरी विधिवत पूजारम्भ गरियो । बडादसैँका बेला मध्यरातमा एक्कासि पन्चैबाजाको आवाज आउन थालेपछि जनश्रमबाट ढुङ्गाको छाना भएको पक्की मन्दिर बनाइयो ।
अर्को जनश्रुतिका अनुसार १५ औँ शताब्दीतिर बुढाथोकी परिवारकी एक महिला पानी लिन पँधेरोमा पुग्दा नजिकै ठुलो डरलाग्दो पाटेबाघ बसिरहेको र एउटी युवती नुहाइवरी पूजापाठ गर्न लागेकी देखिन् । ती युवतीले पूजा सकेर नजिकै आई भनिन्, “यो समय तिम्रो होइन । यतिबेला यो पँधेरोमा कहिल्यै नआउनू ।” एउटा पञ्चपात्र हातमा दिँदै ती युवतीले थपिन, “यसलाई घरमा राख्नु, तिमीलाई राम्रै हुने छ ।”
ती युवती बाघमाथि चढेर खैराबाङतर्फ लागिन् । यता ती पञ्चपात्र पाउने महिलाले घरपरिवार र गाउँटोलमा यो प्रसङ्गबारे जानकारी दिएपछि यस मन्दिरको महिमा बढ्न थाल्यो । खैराबाङमा वैदिककालमा पूजाआराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (ईष्र्या) त्याग्न देवीसँग भाकल गरिन्थ्यो । पौराणिक कालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रूपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने परम्परा रहिआएको छ । यस मन्दिरको पूर्वतर्फ भैरवेश्वर महादेवको मन्दिरसमेत रहेको छ । मन्दिरको भित्तामा सिङ्गमर्मर लगाइएको छ । मन्दिर वरपर देवीदेवताका मूर्ति र भक्तजनले चढाएका घण्ट रहेका छन् । कालुदत्तबाट नित्य पूजा गर्ने क्रम सुरु भएपछि उनका सत्राँै पुस्तासम्म अधिकारी थरका ब्राह्मणले र १८१४ साउन ४ देखि तत्कालीन श्री ५ बाट अधिकारपत्र प्राप्त गरी पौडेल थरका ब्राह्मणले नियमित पूजा गरिरहेको देखिन्छ । २०४० साल र २०४५ सालमा स्व. श्री ५ वीरेन्द्रबाट भगवतीको पूजाअर्चना भएको थियो । जिल्ला विकासबाट मन्दिरको जीर्णोद्धार, सत्तलको निर्माण तथा मन्दिर क्षेत्रमा तारबार, वृक्षरोपन जस्ता कार्य हुँदै आएको पाइन्छ । पछिल्लो समय मन्दिर वरपर पर्खाल निर्माण र भौतिक सुधारको काम भएको देखिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरको नाममा रोल्पा जिल्लामा छ सय रोपनीभन्दा बढी भगवती र मोहीको नाममा जग्गा धनी प्रमाणपुर्जा रहेको छ । छाया क्षेत्रको गरिज्युला खेत र खैराबाङको मन्दिर आसपासमा २९ रोपनी जति पाखो जग्गा भगवतीको गुठीका रूपमा रहेको छ । यो मन्दिर मध्यपश्चिम क्षेत्रकै प्राचीन र पूजनीय शक्तिपीठका रूपमा रहेको छ । खैराबाङ भुवनेश्वरी मन्दिर क्षेत्र विकास समितिमार्फत मन्दिरको संरक्षण र विकास कार्य भइरहेको छ ।
खैराबाङ भगवती मन्दिरमा भक्तजन तथा राजामहाराजाले चढाएको धेरै वर्ष पुरानो सुन र चाँदीको गहना रहेका छन् । खैराबाङ भगवतीले लगाउने चाँदीका सिक्री तथा विभिन्न प्रकारका गहनामा जडित सुन आठ तोला २४ लाल र चाँदी झन्डै सात किलोका विभिन्न गहना रहेको बताइन्छ । भगवतीले लगाउने सुनको तिलहरी, पोते, बेलपाड, एक असर्फी, चाँदीको सिक्रीमा जडित पीपलपाते, बेलपत्र, पाता, मुड, गजुर मुन्द्रमाला, चाँदीका मुन्डमाला, कचौरा, चमरा बिड, पानस, छाता, करुवा, सुराही, टीका भाँडा, डमरु, आरती, अर्घ, पञ्चपात्रो, धुपौरो, छातामा खुट्टा, ओदान, कमल फूल, मुकुट, बाला रहेका छन् । विभिन्न समयमा मन्दिर दर्शनका क्रममा दर्शनार्थीले चढाएका ती गहनामा मिति र नामसमेत लेखिएको र ती सबै १९४१ सालअघिका रहेका छन् । गहनाहरू पुराना र पुराताìिवक महìवका भएकाले ऐतिहासिक अध्ययनको विषय बन्न सक्छन् । मन्दिरका गहनाहरू बारम्बार चोरी भएपछि २०३४ सालदेखि सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय राखिएको थियो । तथापि २०७० मा पुनः खैराबाङ भगवती मन्दिर व्यवस्थापन समितिलाई फर्काइएको जनाइएको छ ।
खैराबाङ भगवती मन्दिर पुनर्निर्माण थालिएको छ । २०४० सालअघि प्यागोडा शैलीमा रहेको मन्दिरको पुनर्निर्माण पुरातìव विभागको सहयोगमा थालिएको हो । पुरातफ्व विभागले प्यागोडा शैलीमा मन्दिर निर्माण गर्न ७५ लाख ८३ हजार रुपियाँमा टेन्डर गरेको छ । २०४० सालअघि प्यागोडा शैलीको दुई तला भएको काठैकाठले बनेको थियो । मन्दिरमा एउटा झ्याल पनि थियो । मन्दिर जीर्ण भएपछि २०४४ मा पुनर्निर्माण गर्ने क्रममा एकतले बनाइएको थियो ।