• १० फागुन २०८१, शनिबार

‘भारतमा ठगिएपछि कमाउन आफ्नै देश फर्कें’

blog

धनगढीमा जडीबुटी तौलँदै सरी भण्डारी ।

धनगढी समाचारदाता

धनगढी, फागुन १० गते  । पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित विकट मेला गाउँका ५० वर्षीय भण्डारी डुल्दै, कमाइ गर्नका लागि तराई झर्नुभएको हो । उहाँसँग झोलाभरि जडीबुटी छन् । बाजुराको हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी बिक्रीका लागि भण्डारी प्रदेश अस्थायी राजधानी धनगढी पस्नुभएको छ । 

“मेरो गाउँ विकट ठाउँमा हो । पानी नपरेकाले खेतीपाती केही सप्रेन,” भण्डारीले भन्नुभयो, “मरुभूमि जस्तै गाउँको म गुजारा गर्न जडीबुटी लिएर यहाँ आइपुगेको छु ।” उहाँले विगत तीन वर्षदेखि पहाडको जडीबुटी तराईमा बिक्री गर्ने काम गर्दै आउनुभएको छ । बाजुराकै तल्कोटस्थित डाँडाबाट कालीगढले निकालेको जडीबुटी खरिद गरी आफूले तराईमा बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो । “तीन/चार महिनासम्म टोल, गाउँ डुल्दै जडीबुटीको व्यापार गर्ने गरेको छु,” उहाँले थप्नुभयो, “यसले घरगृहस्थी चलाउन र बच्चा पढाउन सम्भव भएको छ ।”

भण्डारीका दुई छोरी र तीन छोरा गरेर पाँच सन्तान छन् । चार महिनासम्म जडीबुटीको व्यापार गर्दा सबै खर्च कटाई ८०/९० हजार मुनाफा हुने गरेको छ । तराईको टोल टोल डुलेर गरेको कमाइले बालबच्चा पढाउन सम्भव भएको उहाँ बताउनुहुन्छ । “हाम्रो १ नम्बर वडा सबैभन्दा विकट हो । एक प्याकेट नुन सय रुपियाँमा किनेर खानु पर्छ,” भण्डारीले भन्नुभयो, “गुजाराको अरू केही उपाय छैन । यहि काम रोजियो ।” उहाँले यार्चागुम्बा, जेठीमधु, शिलाजित, सतुवा, गानान्नो, रगत चाल्नो जस्ता जडीबुटी झोलामा बोकेर डुल्दै बेच्दै आउनुभएको छ । हातगोडाको जोर्नी दुख्ने, कम्मर दुख्ने, ग्यास्टिकलगायतका समस्या ठिक गर्ने जडीबुटी आफूले डुल्दै बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका नागरिक गुजाराका लागि भारतमा कमाउन जाने व्रmम बढ्दो छ । अझ बाजुरालगायत पहाडी जिल्लामा त झन् गाउँ नै सुनसान बनाएर मान्छे भारत पलायन हुने गरेका छन् । केही वर्षअघिसम्म भण्डारीको नियति पनि त्यही थियो । १२ वर्षको उमेरमै भारतको उत्तराञ्चलमा मजदुरी गर्न जानुभएका उहाँले १८ वर्ष उतै बिताउनुभयो । ढुङ्गा फुटाउने मजदुर हुँदै ठेकेदारीसमेत गरेको भण्डारीले भारतमा कमाएको धन पटक पटक लुटिएपछि स्वदेश फर्केको जानकारी दिनुभयो । “कमाएको पैसा तीन/चार पटक लुटियो । ठेकेदारी गर्दा पैसा पाएन । २० लाख रुपियाँ भारु ठगिएँ,” उहाँले भन्नुभयो, “दुःख गरेर कमाएको सम्पत्ति लुटिने, ठगिने घटनाले फेरि स्वदेशमै फर्कायो । अब म यहीँ कमाएर गुजारा गर्दै छु ।”