नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ९ गते । लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२४ मा दुई हजार २७१ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले यस वर्ष लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट छ जना महिला र २५ पुरुष गरी जम्मा ३१ जना तथा अन्य पक्षबाट दुई हजार १६२ जना महिला र ७८ जना पुरुषसहित जम्मा दुई हजार २४० जना गरेर जम्मा दुई हजार २७१ जना पीडित भएको अभिलेख गरिएको बताउनुभयो ।
उहाँले गत वर्ष सन् २०२३ मा प्रदेशमा दुई हजार ८३ जना पीडित भएको जनाउँदै यस वर्ष २०२४ मा १८८ जनाभन्दा बढी पीडित भएको अभिलेख गरिएको बताउनुभयो ।
महिला अधिकार उल्लङ्घनका घटनामा सन् २०२४ मा लुम्बिनी प्रदेशमा एक हजार ७९१ जना पीडित भएका छन् । यस वर्ष महिला बेचबिखनका घटनामा १८ जना, महिला बेचबिखन प्रयासका घटनामा चार जना, घरेलु हिंसाका घटनामा एक हजार ५८४ जना, दाइजो घरेलु हिंसा घटनामा दुई जना, कथित बोक्सीको आरोपमा तीन जना, परिवारजनबाट हत्या घटनामा १३ जना, साइबर अपराध घटनामा एक जना, बलात्कार घटनामा १२९ जना, सामूहिक बलात्कार घटनामा ११ जना पीडित छन् । त्यसै गरी हाडनाता करणीमा तीन जना, वैवाहिक बलात्कार घटनामा एक जना, बलात्कार प्रयास घटनामा १५ जना र यौन दुव्र्यवहार घटनामा सात जना गरी जम्मा एक हजार ७९१ जना पीडित भएका छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका अनुसार यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा प्रदेशमा ३३३ जना पीडित छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पक्ष उदाशिन बनेको बताउँदै संयोजक महतले क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिने गरेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज शाखा कार्यालयकी प्रमुख द्वारिका अधिकारीले मानव अधिकार उल्लङ्घनका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले प्रहरीले काम गर्ने क्रममा कहिलेकाहीँ केही समस्या पर्दा मानव अधिकार उल्लङ्घन भएको देखिन सक्ने स्वीकार गर्दै शान्तिसुरक्षा कायम गर्दा वा अन्य काम गर्दा मानव अधिकारको हनन हुन नदिन प्रहरी सचेत रहेको बताउनुभयो ।