बिजुवार समाचारदाता
बिजुवार (प्युठान), फागुन ८ गते । सरुमारानी गाउँपालिका–४, बैकेका २६ वर्षीय इन्द्रबहादुर थापामगर चार वर्षको उमेरमा ज्वरो र झाडापखालाले ग्रस्त हुनुभयो । घरपरिवारले गाउँका धामीझाँक्रीदेखि देवीदेवतासम्म भाकल गरे । यी कुनै उपायले काम गरेन । बाबु यमबहादुर थापाले भैरहवाको लुम्बिनी रणअम्बिका आँखा अस्पताल लगेर चिकित्सकसँग परामर्श गर्नुभयो तर चिकित्सकले आँखाको नसा सुकिसकेको भन्दै उपचार सम्भव नभएको जानकारी दिएर घर फर्काइदिए ।
गाउँमा आँखा नदेख्ने मान्छे पढ्न सक्दैन, बिचरा के गरेर बाँच्ला ? भन्ने धेरै थिए तर परिवारले इन्द्रबहादुरलाई हिम्मत दियो । बाबु यमबहादुरको विश्वास माइलो छोराले पाल्छ भन्ने शब्दले इन्द्रलाई कहिल्यै हार मान्न दिएन । आज इन्द्रबहादुरले शिक्षक सेवा आयोगद्वारा लिइएको प्राथमिक तह तृतीय श्रेणी शिक्षकको खुलातर्फ नाम निकालेर समाजलाई जवाफ फर्काउनुभएको छ ।
इन्द्रबहादुरलाई पढ्न प्रेरित गर्ने शिक्षक चतुर्भुज श्रेष्ठ र लीला गुरुङ महेन्द्र मावि खलङ्गाबाट आएर उहाँलाई भेट्नुभयो । तिमी जस्तै दृष्टिविहीन विद्यार्थीका लागि खलङ्गामा विद्यालय छ भन्ने प्रेरणादायी कुराले उहाँलाई पढ्न प्रोत्साहित गर्यो । २०६३ साल वैशाखमा इन्द्र महेन्द्र माविमा भर्ना भएर ब्रेल लिपिमा पढ्न थाल्नुभयो । इन्द्रले भन्नुभयो, “चतुर्भुज सर र लीला सर मलाई लिन घरसम्म आउनुभएको थियो । उहाँहरूकै कारण म त्यो विद्यालयमा भर्ना भएको हुँ ।” आफू दृष्टिविहीन भए पनि इन्द्रबहादुरले आँखा देख्ने विद्यार्थीलाई ट्युसन पढाएर अङ्ग्रेजी विषयमा बिएड पूरा गर्नुभयो । विद्यालयमा पढ्दै गर्दा शिक्षक बन्ने सपना देख्नुभएका इन्द्रले शिक्षक सेवा आयोगको तयारी गर्नुभयो । पहिलो प्रयासमा असफल भए पनि दोस्रो प्रयासमा इन्द्रले खुलातर्फबाट स्थायी शिक्षकको सफलता हासिल गर्नुभयो ।
इन्द्रले युट्युब र अनलाइन कक्षाबाट तयारी गरेर स्थायी शिक्षकको परीक्षा पास गर्न सफल भएको बताउनुभयो । “सानैदेखि शिक्षक बन्ने रुचि थियो । सफल हुँदा निकै खुसी छु,” उहाँले भन्नुभयो, “निरन्तरता, मेहनत र आत्मविश्वासले सफलता मिल्छ ।”उहाँलाई अहिले बधाई थाप्न भ्याइनभ्याइ छ । शिक्षक सेवा आयोगको तीन तहका पत्र उत्तीर्ण गर्नुभएका इन्द्रबहादुर अहिले नियुक्तिको पर्खाइमा हुनुहुन्छ । इन्द्रबहादुरले आफ्नो नियुक्ति आफ्नै गाउँपालिकाको विद्यालयमा होस् भन्ने चाहना राख्नुभएको छ । “म आफ्नै क्षेत्रमा शिक्षक भएँ भने विद्यार्थीलाई अझ प्रभावकारी रूपले पढाउन सक्छु,” उहाँले भन्नुभयो । आँखा नदेख्ने इन्द्रबहादुरले माण्डवी एफएममा छ वर्षदेखि रेडियो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । माण्डवी एफएमका अध्यक्ष सञ्जय रिजालका अनुसार इन्द्र प्युठान जिल्लाका एकल दृष्टिविहीन रेडियोकर्मी हुनुहुन्छ र उहाँको काममा कुनै गुनासो छैन । उहाँको काममा उत्कृष्टता छ ।