राधा नेपाली
सन्धिखर्क, फागुन ७ गते । नेपालकै प्रसिद्ध सुपा देउराली मन्दिर परिसर विस्तार गरी फराकिलो बनाइएको छ । खोला किनारको चट्टानी भीरको साँघुरो स्थानमा अवस्थित मन्दिरमा भक्तजन तथा पर्यटकहरुको बृद्धि भएर व्यवस्थापनमा असहज भएपछि परिसरलाई विस्तार गरिएको हो । हाल करिब चार सयजना अट्ने गरी परिसरको विस्तार भएको छ ।
चट्टानमाथि आधुनिक प्रविधिबाट पीलर उठाएर विस्तार गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्दिर पहाडको साघुरो ठाउँमा छ । तलबाट पर्खाल उठाउन पनि नसकिने माथि पहाड काट्न पनि नसकिने अवस्था छ । भक्तजनको सङ्ख्या दिनहुँ बढेदो छ । लाइनको व्यवस्थापनमा पनि साह्रै असहज भएकाले अहिले विस्तार गरेका हौँ ।”
साँघुरो स्थानमा भएकाले हालको संरचना विस्तार पनि दीर्घकालीन समाधान हुन नसक्ने बताइएको छ । भक्तजनको चाप बढ्दै जाँदा खुला स्थानको अभाव बढ्दै जाने अध्यक्ष केसीले बताउनुभयो । त्यसमाथि गोरुसिङ्गे सन्धिखर्क सडक पनि मन्दिर छेउबाटै चल्ने हुँदा ट्राफिक जाम हुनथालेको छ । खुला स्थानको अभावले गर्दा मन्दिरमा चढाइएको बलि करिब पाँचसय मिटर उत्तरतर्फ नरपानीको वनभोजस्थलमा पकाउने खाने गरिदै आएको छ ।
चट्टानी डरलाग्दो भिरमा रहेको संरचना निर्माण गरेर फराकिलो बनाएपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरूलाई सहजता हुन थालेको समितिका सचिव हरि खनालले बताउनुभयो । उहाँका अनुसार हाल समितिका लागि आफ्नै कोठा तथा करिब चारसय भक्तजन परिसरमै अट्न सक्नेछन् । मन्दिर परिसर साँघुरो हुँदा सडकमै भक्तजनको भिड हुने गरेको छ ।
सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै खाँचीकोटमा रहेको स्वास्थ्य चौकीलाई पनि मन्दिरले मासिक १३ हजार रुपियाँ सहयोग गर्दै आएको कोषाध्यक्ष कृष्ण पुरीले बताउनुभयो । समितिका अनुसार मन्दिरमा चाडपर्व र पर्यटनको मौसममा भेटीबाट दैनिक दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ । समान्य दिनमा भने दैनिक १० हजार रुपियाँसम्म भेटी उठ्ने गर्दछ ।
कोषाध्यक्ष पुरीले भन्नुभयो, “महिनामा २०-२२ लाख भेटी सङ्कलन हुन्छ । अरु आयस्राेत छैन । भेटीबाटै विद्यालय र सामाजिक काममा सहयोग गर्दै आएको छौं ।” मन्दिरको नाममा हाल ४२ तोला सुन र करिब डेढ करोड रुपियाँ छ । मासिक करिब ९० हजार रुपियाँ मन्दिरका चारजना कर्मचारीको तलबमा खर्च हुँदै आएको छ ।
मन्दिरमा चाडपर्व र पर्यटकीय मौसममा दैनिक १० हजारसम्म पर्यटक आउने समितिले जनाएको छ । सामान्य दिनमा तीनहजारसम्म आउने सचिव खनालले बताउनुभयो । खनालले भन्नुभयो “पछिल्लो समय ४० प्रतिशत भक्तजन भारतीय हुन्छन् र ६० प्रतिशत नेपाली आउँछन् । लुम्बिनी प्रदेशका जिल्लाबाट बढी सङ्ख्यामा आउँछन् ।”
सुपादेउराली मन्दिरमा पूजा गरेपछि मनले चाहेको पूरा हुने मान्यताले भक्तजनको घुइँचो हुने गर्दछ । किम्बदन्ती अनुसार वैदेशिक रोजगारमा जाँदा धेरै धन कमाउँ आउँदा सुनको ध्वजा चढाउँछु भनेर भाकल गरेका लाहुरे धेरै धन कमाएर फर्कदा अर्कै बाटो गएपछि सुपादेउराली भगवतीले लाहुरेलाई सबै सामानसहित भिरमा टाँसिदिएको किम्वदन्ती छ । लाहुरेको तस्विर अहिले पनि भित्तामा टाँसिएको देख्न सकिन्छ । नराम्राे बोल्न हुँदैन भन्ने किम्बदन्ती सुपा देउरालीको छ ।
मन्दिरमा भक्तजनले सुन भेटी (नगद), परेवा, बोका तथा अन्य कपडालगायत जिन्सी सामग्रीहरु चढाउने गर्दछन् । भक्तजनहरु पूजा गरिसकेपछि नरपानी पार्कमा रमाउने गर्दछन् । मन्दिरमा चढाएका बोकाहरु घरमा लान नपाइने मान्यताअनुसार सोही स्थानमा पकाउने, खाने रमाउने गर्दछन् । साथै बञ्जिजम्प झोलुङ्गे पुलमा मनोरञ्जन लिने र सेल्फी खिच्नेको पनि घुइँचो हुने गर्दछ ।
सुपा देउराली खण्डमा कडा चट्टान भएपछि नयाँ प्रविधि रकएन्चोर्ज प्रयोगमार्फत ड्रिल गरेर आरसीसी ढलानले सडक विस्तार भइरहेको छ । सडक विस्तारपछि थप सहजता हुने बताइएको छ ।