• १२ फागुन २०८१, सोमबार

चिकित्सक सङ्घ आन्दोलित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ७ गते । नेपाल चिकित्सक सङ्घले सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले विज्ञप्ति निकाल्दै बुधबार र बिहीबार सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सङ्घले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको सङ्घका महासचिव डा. सन्जीव तिवारीले जानकारी दिनुभयो । 

बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्य संस्था अगाडि कालोपट्टी बाँधी कार्यालय समयको पहिलो एक घण्टा धर्ना गर्ने डा. तिवारीको भनाइ छ । सरकारले माग सुनुवाइ नगरे आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने कार्यक्रम गर्न सङ्घ बाध्य हुने चेतावनी पनि दिएको छ । 

सङ्घले फागुन ४ गते सरकारसमक्ष विभिन्न ९ बुँदे माग राखेको थियो । जसमध्ये सरकारले एक दुई माग पूरा गरे पनि बाँकी माग पूरा नगरेको सङ्घको भनाइ छ । सङ्घले राखेको मागमा सरकारी शैक्षिक संस्थामा एमडी–एचएस–एमडीएसको सिट २३१ ले थप गर्न भनी गरिएको निर्णय अक्षरशः कार्यान्वयन हुनुपर्ने, थप भएको सिट सङ्ख्याको लिष्ट सार्वजनिक गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकमा निर्णय भएको र कार्यान्वयनका लागि परिपत्र गरिएअनुसार नेपालका आवासीय चिकित्सक (एमडी–एचएस–एमडीएस) को निर्वाह भत्तालाई नेपाल सरकारको आठौँ तह सरह ४८ हजार ७३७ व्यवस्था  गर्नुपर्नेछ । यी दुई माग पूरा भइसकेको छ । 

बाँकी मागमा स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीको थप दरबन्दी सिर्जना गर्नुपर्ने, अस्पताल विकास समिति अन्तर्गत कार्यरत चिकित्सकलाई स्थायी नियुक्त प्रदान गरिनुपर्ने, अस्पताल विकास समिति अन्तर्गत नयाँ नियुक्ति प्रदान गर्दा चिकित्सकको शैक्षिक योग्यताअनुसार एमडी–एमएस–एमडीएस उत्तीर्ण चिकित्सकलाई नवौं तहसरह एवं डिएम–एमसिएच उत्तीर्ण  गरेका चिकित्सकलाई दशौँ तहसरह नियुक्ति प्रदान गरिनुपर्ने लगायतको सङ्घको माग  छ।