• ९ फागुन २०८१, शुक्रबार

बुटवल–गोरुसिङ्गे सडक धमाधम रुख काटिँदै

blog

बुटवल–गोरुसिङ्गे सडक निर्माणका क्रममा काटिएका रुख । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, फागुन ७ गते । बुटवल–गोरुसिङ्गे सडक विस्तारका क्रममा पुल निर्माणको कामसँगै सडक किनारका रुख काट्न सुरु गरिएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले निर्माण व्यवसायीले सडक विस्तारका क्रममा सडक किनारको क्षेत्र खाली गराउनुपर्ने भएकाले अहिले रुख काट्ने अभियान सुरु गरेको जानकारी दिएको छ । 

आयोजना प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका क्रममा एकसाथ चार वटा पुल निर्माणको कामसमेत हुँदै गरेको र सडक किनारका रुख काट्ने र विद्युत्का पोल सार्ने काम भइरहेको बताउनुभयो ।  बुटवल–गोरुसिङ्गे २५ किलोमिटर सडक निर्माणका क्रममा सडकको मापदण्डभित्र परेका करिब सात हजार रुख काटिने भएका छन् । यही क्रममा निर्माण व्यवसायीले रुपन्देहीको सैनामैना नगरपालिका–११, सालझन्डी, बाँसगढी र रामापुर क्षेत्रबाट अहिले रुख कटानको काम सुरु गरेका छन् । 

आयोजनाले करिब सात हजार रुख कटान गर्दा ७० हजार रुख रोप्ने भएको छ । आयोजना प्रमुख न्यौपानेले एउटा रुख कटान बराबर १० वटा अरू रुख रोप्ने सर्तबमोजिम ७० हजार रुख रोपिने बताउनुभयो ।  सडक विस्तारकै लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रूख काट्न सडक विभागले दुई महिनाअघि नै स्वीकृति दिइसकेको थियो । उहाँले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीहरू ठाउँ ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, पुल बनाउने र अन्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्नेलगायतका काम प्रथम चरणमै सम्पन्न भइसकेको जानकारी दिनुभयो । 

विसं २०१९ मा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्वतयारी छ । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ‘ओभरहेड ब्रिज’, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने आयोजनाले जनाएको छ । सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।