रामकृष्ण बोहरा
बागलुङ, फागुन ५ गते । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको छ । विशेषगरी घुम्ती बस्ती भएको पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसी र तमानखोला गाउँपालिकामा खोप लगाउने उमेर समूहका किशोरीहरु नछुटुन् भनेर खोज पड्ताल अभियान सञ्चालन गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीहरुको खोजी गरिरहेका छन् । विद्यालयको पहुँचमा भएकाहरु नछुटेका भए पनि कतिपय पहुँचमै नभएकाहरु छुट्न सक्ने भएकाले खोजी भइरहेको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले बताउनुभयो ।
‘‘विद्यालय नपढेका, अपाङ्गता भएका किशोरी पनि नछुटुन् भन्ने हो,’’ शर्माले भन्नुभयो, ‘‘विवाह गरेर गएका किशोरीहरुको पनि खोजी भइरहेको छ ।’’ ढोरपाटन नगर र तमानखोला गाउँपालिकाका अति विकट क्षेत्रमा बालविवाह गर्नेको सङ्ख्या बढी छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार विद्यालयबाहिर रहेका बागलुङ ९७ जना किशोरीले एचपिभीविरुद्धको खोप लगाएका छन् । बागलुङका ४, जैमिनीका ५, गलकोटका १०, ढोरपाटन नगरपालिकाका २२, काठेखोलाका ४, बरेङ र तमानखोलाका १÷१ र बडिगाडका १९ र निसीखोला गाउँपालिकाका ३१ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार विद्यालयबाहिर रहनुभएका अधिकांश किशोरीलाई विद्यालयमै र केही किशोरीलाई स्वास्थ्य संस्थामा खोप लगाइएको हो । बागलुङमा माघ २२ देखि सुरु भएको खोप अभियान फागुन ३ गते सकिएको छ । खोप अभियान सकिए पनि ६ गते मङ्गलबारसम्म छुटेका किशोरीहरुलाई स्वास्थ्यकर्मीले घर घरमा खोजी गरी खोप लगाउन बुर्तिवाङ अस्पताल र धौलागिरि प्रादेशिक अस्पताल बागलुङ बजारमा रहेको वडा नं. २ अन्तर्गतको संस्थागत क्लिनिक (एमसिएच) मा खोप लगाइने खत्रीले बताउनुभयो ।
अभियानको निर्धारित समयमा बागलुङका ११ हजार एक सय ३१ किशोरीले एचपिभी खोप लगाएका छन् । जिल्लामा ११ हजार पाँच सय ५५ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्यको लक्ष्य थियो । अभियानलाई सफल बनाउन तीन सय १५ स्वास्थ्यकर्मी र ६ सय २६ जना स्वयंसेविका परिचालन गरिएको थियो भने ३१२ खोप केन्द्र तय गरिएको थियो ।