राजकुमार भट्टराई
खोटाङ, फागुन ४ गते । खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ सुरु भएको आगो निरन्तर फैलिएको छ । हालसम्म एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । अन्य दुईवटा घरमा क्षति पुपेको छ ।
पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय पदम कार्कीले बताउनुभयो । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भइरहेको बताइएको छ ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीय निरन्तर लागिपरिरहेका छन् । जिल्लाबाट तीनैवटै सुरक्षा निकायबाट पनि आगो नियन्त्रणमा परिचालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईलगायत जनप्रतिनिधि पनि आगलागी स्थलमा पुगेका छन् । पानीको ट्यांकरहरु, जेसिबीहरु घटना स्थलमा पुगिसकेकाले आगो थप फैलिन नपाउने जानकारी स्थानीयले दिएका छन् ।