• ६ वैशाख २०८२, शनिबार

‘शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल’

blog

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, फागुन ४ गते । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ । उहाँले समयसापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजतजयन्ती २०८१ को उद्घाटन गर्दै रानाले बालबालिकाको पहिलो शिक्षक अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गर्नुभयो । उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको शिक्षालाई संसारभर प्रतिस्पर्धा गर्न सक्नेखालको बनाउनु पर्छ, यसमा बुटवलको क्याननले गरेको अभ्यास अनुकरणीय छ ।”

सो अवसरमा क्याननले नगद ५१ हजारसहित उपसभामुख रानामगरलाई अभिनन्दन गरेको थियो । त्यस्तै राष्ट्रिय क्रिकेट खेलाडी देव खनाललाई अनुबन्धनसमेत गरेको छ । सो अवसरमा पत्रकारिता क्षेत्रबाट शिक्षा र समाजलाई जोड्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गोरखापत्रकर्मी कपिल ज्ञवालीलाई नगद १० हजार, दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै गरी क्यानन माविका संस्थापक, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रशंसापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्राचार्य शङ्कर भण्डारीले विद्यालयलाई समयसापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गर्नुभयो ।