नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ४ गते । पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तीर्थयात्री जाने गरेका छन् । पुस २९ बाट सुरु भई फागुन १४ सम्म सञ्चालन हुने सो मेलामा जमुनाहा नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि गइरहेका पाइएको छ ।
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्दा पापको प्रायश्चित्त भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक पाँच हजारसम्म श्रद्धालु प्रयागराज गइरहेका इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँले सोही कारण केही दिनयता नाकामा ठुलो भिडभाड बढेकाले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताउनुभयो । १४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगन्ज–८ का अरुण श्रेष्ठले बताउनुभयो । उहाँले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरिबाटै नेपाली त्यहाँ पुगेका बताउनुभयो ।