सन्धिखर्क समाचारदाता
सन्धिखर्क, फागुन ४ गते । अर्घाखाँचीमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन भएको छ । सुक्खा मौसमसँगै हावाहुरी चल्ने भएकाले अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको भन्दै विशेष अभियान सञ्चालन गरिएको हो ।
डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । अभियान अन्तर्गत प्रहरीले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिरहेको छ ।
सामुदायिक वन उपभोक्ता समिति, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसँग अन्तर्क्रिया गर्दै प्रहरीसहितको टोली परिचालन भएको डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नागरिकलाई सचेत हुन कार्यालयले सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तर्क्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । श्रेष्ठले भन्नुभयो, “डढेलोको उच्च जोखिममा अर्घाखाँची पनि रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक छ ।”
डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन भएको छ । अभियानमा प्रहरी खटिएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । अभियानले डढेलो लाग्न सक्ने उच्च जोखिममा रहेका सम्भावित वनको पनि थप पहिचान गर्ने छन् ।
अभियान अन्तर्गत तीन वटा संयन्त्र निर्माण गरिएको छ । आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला विपत् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, समिति बनाइएको छ ।