• ६ वैशाख २०८२, शनिबार

लुम्बिनीमा दुई ठुला धार्मिक कार्यक्रम हुँदै

blog

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर ।

भैरहवा समाचारदाता

भैरहवा, फागुन ४ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन दोस्रो सातादेखि दुई ठुला कार्यक्रम आयोजना हुने भएका छन् । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने बताइएको छ ।  

अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा फागुन १४ देखि चैत ३ सम्म पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने छ । यसै गरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा फागुन २० देखि २५ सम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने छ । 

त्रिपिटक वाचन समारोहमा महास्थवीर, भिक्षुभिक्षुणी, उपासकउपासिकासहित अल्पकालीन श्रामणेरहरूको सहभागिता रहने छ । फागुन २१ गते औपचारिक उद्घाटन गरी सुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सूत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देसना गरिने आयोजकले जनाएका छन् । 

गत वर्ष जस्तै फागुनमा हुने ठुला दुई कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँले फागुन १४ देखि चैत ३ सम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशलाई व्यावहारिक रूपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो । 

यसै गरी फागुन १४ सम्म अल्पकालीन भिक्षु बन्न चाहनेले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासङ्घले जनाएको छ । भिक्षु तेछावरले पाँच सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।