काठमाडौं, फागुन २ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा सिराहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय विशाल ठाकुर छन् ।
उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट २१ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटेश्वरबाट बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।