• २ फागुन २०८१, शुक्रबार

सर्लाहीको बाँके जङ्गलमा बस पल्टियो

blog

घाइतेहरुको उपचार हुँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

बसमा चालक र बसधनीबाहेक अन्य सबै ३५ जना महिला मात्रै सवार थिए

सर्लाही, फागुन  गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा बिहीबार साँझ बस पल्टिँदा १५ जना घाइते भएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सरिक भएर फर्किदै गरेका महिला सवार ना ७ ख ३६४३ नम्वरको बस बाँके जङ्गलस्थित घारिबथान जाने चोकमा बिहीबार साँझ ७ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो ।

बसमा सवार ३५ जना महिलामध्ये १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक जोशीले घाइते सबैको अवस्था सामान्य रहेको बताउनुभयो । “एक-दुई जना मध्यम घाइतेबाहेक अन्य सबैको अवस्था सामान्य छ,” इन्स्पेक्टर जोशीले गोरखापत्रसँग भन्नुभयो, “बसमा पनि खासै क्षति पुगेको छ, घटनास्थलमा रहेको बस प्रहरी चौकी फूलजोरमा ल्याउने प्रयास गरिरहेका छौँ ।”

घाइते १५ जनालाई उपचारका लागि लालबन्दी बजारका अस्पतालमा ल्याइएको छ । घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार बसमा चालक र बसधनीबाहेक अन्य सबै ३५ जना महिला मात्रै सवार थिए । दुर्घटनाका पछि बसका चालक फरार रहेका छन् । 

बसधनी भने प्रहरीसँगै रहेका केशरगन्जका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । तीव्र गतिका कारण बस पल्टिएको अनुमान गरिए पनि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।