हेटौँडा, फागुन १ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
बिहीबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित समारोहमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले परिवारबाट बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।
बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारले काम गर्नुपर्ने पनि सिंहले बताउनुभयो । उपयुक्त योजना र रणनीति सहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उहाँले बालमैत्री नगर घोषणासँगै यसको दिगोपनमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
‘‘हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ । नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा हेटौँडा पुगेको छ । उपमहानगरपालिका क्रमशः रूपमा समस्या र चुनौतीहरूको व्यवस्थापन सहित त्यसतर्फ अग्रसर भइरहेको छ ।’’
त्यस्तै, उहाँले नागरिकको माग अनुसार सरकारले विकासका आयोजनाहरू परिचालन गर्नुपर्ने पनि बताउनुभयो । स्थानीय तहका सम्भावनाहरूको पहिचानसहित विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट परिचालन गर्नुपर्नेमा सिंहको भनाइ थियो ।