• १ फागुन २०८१, बिहिबार

लैङ्गिक हिंसा नियन्त्रणमा सक्रियता

blog

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको बैठकका सहभागी।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १ गते। ताप्लेजुङमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी क्रियाकलापमा सक्रियता देखाउन थालिएको छ। लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित हिंसा नियन्त्रणका क्रियाकलापमा थप सक्रिया देखाउन सुरु गरिएको हो।

लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्ने र हिंसाबाट पीडितले उचित न्याय दिलाउनमा सहयोग पुर्‍याउने गरी सक्रियता देखाउन थालिएको हो। लैङ्गिक हिंसाका घटनाले समाजमा नकारात्मक वातावरण सिर्जना गर्ने र हिंसाकै कारण गम्भीर र अकल्पनीय घटना हुने भएकाले सम्भावित हिंसाका घटना नियन्त्रणमा जोड दिन थालिएको हो।

लैङ्गिक हिंसाका पीडितलाई न्याय दिलाउन, उनीहरुको सुरक्षाको प्रत्याभूति, आवश्यक सल्लाह सुझाव, मनोवैज्ञानिक तवरले हौसला प्रदान गर्नेजस्ता क्रियाकलाप गरिँदै आएको छ। यस्तै पीडितमा आत्मविश्वास जगाउन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेकाहरुको  अधिकारका लागि गतिविधि गर्ने गरिएको छ। लैङ्गिक हिंसा नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न, प्रभावित एवम् पीडितको पारिवारिक मेलमिलाप गराउने लगायतका कार्यमा सक्रियता बढाइएको छ।

लैङ्गिक हिंसा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरीय सञ्जाल गठन गरिएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलको संयोजक रहेको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको हो। 

सञ्जालनको सदस्य सचिवमा प्रहरी निरीक्षक विवेक बस्नेत रहनुभएको छ। सदस्यमा महिला सञ्जालकी जिल्ला अध्यक्ष गीता लिङ्देन, जिल्ला अस्पतालकी नर्सिङ अधिकृत विजया राई, भानुजन माविकी शिक्षका मैयादेवी थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य दिलमाया लिम्बू चयन हुनु भएको छ। 

यसैगरी कानुन व्यवसायी अभिवक्ता ठाकुरसिंह लिम्बू, फुङ्लिङ नगरपालिका न्यायिक समितिकी उजुरी प्रशासक बविता पोमु, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियाली, सञ्चारकर्मी प्रिशा बस्नेतलगायत सदस्य छन्। गठित सञ्जालले लैङ्गिक हिंसा अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम, हिंसाका घटना हुन लागेको जानकारी भएमा सामूहिक हस्तक्षेप गर्ने, लैङ्गिक हिंसामा परेका महिला वा पुरुष दुवैलाई न्यायको पहुँचमा पुर्‍याउन सहयोग गर्नेजस्ता कार्य गर्नेछ।