चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवार स्थायी पुनर्वासको पर्खाइमा रहेका छन्। हाल अस्थायी आवासमा बस्दै आएका मैवाखोला गाउँपालिका–४ साँघुका पहिरो पीडित परिवार स्थायी आवास अर्थात् पुनर्वासको पर्खाइमा रहेका हुन्।
करिa डेढ वर्षअधि अर्थात् २०८० साल असार महिनाको पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका साँघु ओदक बस्तीका ६२ परिवारसमेत ६५ परिवार हाल अस्थायी आवासमा बसोवास गर्दै आएका छन्। त्यसबेला पहिरोबाट विस्थापित हुन पुगेका परिवारलाई मैवाखोला गाउँपालिकाले वडा ३ साँघुको निर्माणाधीन मदनभण्डारी रङ्गशालामा एकीकृत अस्थायी आवास घर निर्माण गरी पुनस्थापित गराएको थियो।
सुरक्षित ठाउँका रूपमा सुनिश्चित गर्दै रङ्गशालामा गाउँपालिकाले निर्माण गरेको एकीकृत आवासमा बस्दै आएका पहिरो पीडित परिवार यतिबेला स्थायी आवासको पर्खाइमा रहेका छन्। कच्चा उत्तिसको काठ, बाँस र जस्तापाताको प्रयोग गरी निर्माण गरिएको अस्थायी संरचना (आवास घर) को बसाइ सोचेजस्तो सहज नभएको पीडित परिवार बताउँछन्। गर्मी र चिसो याममा अध्यधिक जाडो हुने हुँदा अस्थायी आवासको बसाइ कष्टकर रहेको पीडित परिवारको भनाइ छ।
पीडित मिङ्मारिता शेर्पाले स्थायी आवासको पर्खाइमा आफूहरु रहेको बताउनुभयो। “पहिलेको बस्ती ओदक फर्किएर बस्ने अवस्था छैन, स्थायी बासको व्यवस्था सरकारले चाँडै गरी दिए घर व्यवहार चलाउनलाई सहज हुने थियो” शेर्पाले भन्नुभयो। अर्का पहिरो पीडित लाक्पा शेर्पाले पनि हाल बसोबास गर्दै आएको आवास घरमा प्रयोग भएको बाँस तथा काठहरू मक्काउन थालेकाले स्थायी संरचना चाँडै होस् भन्नेमा आफूहरू रहेको बताउनुभयो।
पीडित कर्साङ शेर्पाले पनि स्थायी बासको पर्खाइमा समय बिताइरहेको बताउनुभयो। स्थानीय सरकारले चाँडै स्थायी आवासका लागि पहल गरी दिने बताएको भए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको आफूले थाहा नपाएको उहाँले बताउनुभयो। आफ्नो बस्तीमा रहेको जग्गा जमिनसमेत पहिरोले खेती लगाउनसमेत नहुनेगरी क्षति गरेपछि अधियाँ र कुतमा अर्काको जग्गामा खेती गरेर गुजारा चलाउँदै अस्थायी आवासको बसाइ पीडादायी रहेको पीडितहरू बताउँछन्।
यता पहिरो पीडित परिवारलाई स्थायी आवास व्यवस्थापनका लागि पहल भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो। अध्यक्ष वनेमका अनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पीडित परिवारको स्थायी आवासको व्यवस्थापन गर्नुपर्ने हुन्छ। पहिरो पीडितको स्थायी बसोवास व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट प्रदेश र सङ्घीय सरकारसमक्ष पहल गरिएको उहाँले जानकारी दिनुभयो।
हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिसहितको संलग्नतामा स्थायी आवास निर्माण स्थलको भौगर्भिक अध्ययन भइसकेको अध्यक्ष वनेमले बताउनुभयो। उहाँले भौगर्भिक अध्ययन प्रतिवेदन स्वीकृत भई सङ्घ र प्रदेश सरकारले बेहोर्नुपर्ने व्यवस्था अनुसारको लागत रकम विनियोजन भएमा आवास निर्माणको प्रक्रिया सुरु हुने छ। स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले ६० लाख रुपियाँ बजेट विनियोजन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो।
पहिरो पीडित परिवारलाई सकेसम्म चाँडै स्थायी आवास निर्माण गरी पुनर्स्थापित गर्न सके उनीहरूको पारिवारिक अवस्था र दैनिकी सामान्य बन्दै जाने थियो भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो। यद्यपि, हाल अस्थायी आवासमा बस्दै आएका पीडित परिवारलाई कुनै समस्या आएमा समाधानका निम्ति सहयोग गर्न स्थानीय सरकार सधैं तत्पर रहेकोसमेत अध्यक्ष वनेमले बताउनुभयो। पहिरोका कारण विस्थापित भई अस्थायी आवासमा बस्दै आएका सबै जनजातिअन्तर्गत शेर्पा समुदायका रहेका छन्।