• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभामा सांसदको माग- ‘‘महिलालाई गलत दृष्टिले हेर्नेका आँखा झिक्नुपर्छ’’

blog

काठमाडौं, जेठ १४ गते। प्रतिनिधिसभा सदस्य सुवर्ण ज्वारचनले महिलालाई गलत दृष्टिले हेर्नेका आँखा झिक्नुपर्ने माग अगाडि सार्नुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुनुहुँदै उहाँले यस्तो माग अगाडि सार्नुभएको हो। 

पछिल्ला दिनमा महिला असुरक्षित भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो। पहिलो पटक संविधान निर्माणको क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई महिला हिंसासम्बन्धी कडा कानुन ल्याउन माग गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। 

‘‘महिलाले न्याय पाउनुपर्छ। महिला सुरक्षित हुनुपर्छ भन्ने आवाज छ। महिला दिउँसै लुटिएका छन्, बेचिएका छन्। आफू घरभित्रबाट पनि असुरक्षित छन्। जस्तो कानुन बनाए पनि केही हुनुवाला छैन। महिला दाइजोका कारण मारिएका छन्। घरबाट हिँडेका चेली बाटैमा अपहरित भएका छन्। बलात्कारमा परेका छन्। पहिले संविधान लेख्ने बेलामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएकी थिएँ’’, उहाँले भन्नुभयो, ‘‘जे भए पनि महिलाको न्याय उसको जीवन बाँच्नका निम्ति अरब देशमा जस्तो अर्काको छोरी चेलीलाई गलत आँखा लगाउनेलाई आँखै झिकिदिने। जसले चोरी गर्छ हातै काटिदिने, महिलामाथि हातपात गर्नेलाई मारिदिने कानुन ल्याउनुपर्छ भने। उहाँले त्यो नलेखौँ कडा कानुन ल्याउनुपर्छ भन्नुभयो।’’

उहाँले सरकारको नीति तथा कार्यक्रममा पुराना उद्योग सञ्चालन गर्ने विषय समेटिएको भन्दै खुशी व्यक्त गर्नुभयो। पुराना कार्यक्रम नीति तथा कार्यक्रममा समेट्न खुशीको कुरा भएको उहाँले बताउनुभएको छ। प्रतिनिधिसभामा बोल्नका लागि समय माग गरे पनि अवसर नपाएको तर शनिबार पाएको भन्दै उहाँले धन्यवादसमेत दिनुभएको छ।