अमरराज नहर्की
तनहुँ, माघ २८ गते । व्यास नगरपालिकाभित्रका भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले दमौलीमा तीनदिने बहुजातीय सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते गरी तीन दिन सञ्चालन हुने भएको हो ।
विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको व्यास नगर प्रज्ञा प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगर प्रमुख एवम् व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरपालिकाभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्न तीनदिने कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताउनुभयो ।
संस्कृति भनेको देशको मुल परिचय भएको यसको जगेर्ना गर्न सांस्कृतिक गर्न लागिएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले जानकारी दिनुभयो । कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाभित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव सफल बनाउन विभिन्न जातीय संस्थासँग छलफल तीव्र पारिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख एवम् सहकुलपति इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेको उपस्थिति थियो । प्रचारप्रसार संयोजक अन्जना तिमिल्सिनाले कार्यक्रममा ललितकला, मूर्तिकला र चित्रकलाको समेत प्रवर्धन हुने जानकारी दिनुभयो ।
कार्यक्रममा जातीय, सांस्कृतिक तथा कलाकार संयोजक मेघनाथ रिमालले उत्कृष्ट झाँकी र प्रस्तुति दिनेलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले ३० देखि ५० जनाको समूहमा झाँकी प्रस्तुत गरिनुपर्ने बताउनुभयो ।
नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति रहनेछ । विशेषगरी लोपोन्मुख संस्कृति प्रस्तुत गर्न प्रोत्साहन गर्ने रिमालले बताउनुभयो । कार्यक्रममा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्ख ध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिनेछ । कार्यक्रममा मौलिक खानाका स्टल हुनेछन् । कार्यक्रममा प्रवेशको शुल्क नलाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।