• १९ चैत २०८१, मङ्गलबार

सेवा प्रधान अर्थतन्त्र

blog

अर्थ व्यवस्थाको चरित्र र संरचनालाई अर्थतन्त्रमा कुन क्षेत्रको कस्तो भूमिका रहेको छ भन्ने दृष्टिकोणबाट हेरिन्छ । समयको अन्तरालसँगै यस्तो संरचनागत स्वरूपमा तलमाथि हुन जान्छ । विश्व अर्थतन्त्रको विकासको इतिहास पढ्दा प्रारम्भिक चरणमा कृषि तथा पशुपालनको प्रभुत्व रहेको पाइन्छ । त्यसपछि क्रमशः अर्थतन्त्र औद्योगिक चरणमा प्रवेश गर्छ । युरोपका विकसित मानिने संयुक्त अधिराज्य, फ्रान्स र जर्मनीदेखि एसियाका जापान, चीन, दक्षिण कोरिया तथा उत्तर अमेरिकामा पर्ने संयुक्त राज्य अमेरिका र क्यानडासमेत यही चरण पार गरेर अहिलेको अवस्थामा पुगेका हुन् । भारत पनि यही चरणमा छ, भियतनाम, थाइल्यान्ड आदि औद्योगिक अर्थतन्त्रका रूपमा विकसित हुँदै छन् ।

विश्वका ठुला र मध्यम अर्थतन्त्र कृषिबाट उद्योगसँगै सेवा क्षेत्रमा प्रवेश गरेर आए पनि तिनको अर्थतन्त्रको चरित्रमा कतिपय भिन्नता छ । सन् २०२३ को तथ्याङ्क केलाउँदा विश्वको ठुलो अर्थतन्त्र भएको देश संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ उत्पादनमा कषि र उद्योग क्षेत्रको योगदान क्रमशः एक प्रतिशत र १९ प्रतिशत छ, बाँकी ८० प्रतिशत अंश सेवा क्षेत्रको छ । यहाँ करिब छ प्रतिशत श्रमशक्ति कृषिमा संलग्न छ, १८ प्रतिशत उद्योग क्षेत्रमा काम गर्छन् र बाँकी सेवा क्षेत्रमा लागेका छन् । दोस्रोमा गनिने चीनको अर्थतन्त्रमा यी अङ्क क्रमशः सात प्रतिशत, ३८ प्रतिशत र ५५ प्रतिशत छन् । यहाँ श्रमशक्तिको संलग्नता कृषि, उद्योग र सेवामा क्रमशः २३, ३२ र ४५ प्रतिशत छ । 

भारतको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान क्रमशः १८ र २८ प्रतिशत छ, सेवा क्षेत्रले ५४ प्रतिशत ओगटेको छ । यहाँ ४३ प्रतिशत श्रमशक्ति कृषि क्षेत्रमा गुजारा गरिरहेको छ र सेवा क्षेत्रमा काम गर्नेको प्रतिशत ३२ मात्र छ । दक्षिण कोरियाले कृषि, उद्योग र सेवा क्षेत्रका अनुपात क्रमशः दुई प्रतिशत, ४० प्रतिशत र ५८ प्रतिशतमा राखेको छ । यहाँ कृषि, उद्योग र सेवा क्षेत्रमा संलग्न श्रमशक्तिको अनुपात क्रमशः चार, २५ र ७१ प्रतिशत रहेको देखिन्छ । पछिल्लो दशकमा आर्थिक विकासमा उल्लेखनीय प्रगति गर्न सफल भियतनामको अर्थतन्त्रमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः १५, ३३ र ५१ प्रतिशत छ भने ती क्षेत्रमा श्रमशक्तिको संलग्नता २८, ३४ र ३९ प्रतिशत रहेको देखिन्छ ।

माथि उल्लिेखित सबै देशको अर्थतन्त्रमा कृषि क्षेत्रले उत्पादनको जति अंश ओगटेको छ श्रम शक्तिको दोब्बर जस्तो भाग यस क्षेत्रमा निर्भर छ । यसले कृषि क्षेत्रमा काम गर्नेहरूमा उत्पादन र आयको समानुपातिक एवं सन्तुलित वितरण हुन नसकेको देखिन्छ । त्यसैले गरिबीको प्रतिशत पनि यसैमा बढी छ भन्ने बुझिन्छ । अमेरिकामा पनि उत्पादनमा कृषि क्षेत्रको योगदानको तुलनामा श्रम शक्तिको संलग्नता वा निर्भरता उच्च छ । 

संरचनागत प्रकृति हेर्दा संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया दुवै सेवा प्रधान अर्थतन्त्र भएका देश हुन् । उत्पादनमा योगदानको दृष्टिले नेपाललाई पनि अब कृषि प्रधान देश भन्नु उपयुक्त हुन्न । सेवा क्षेत्र श्रम प्रधानभन्दा पनि पुँजी र प्रविधि प्रधान क्षेत्र हो । घरजग्गा, खुद्रा र थोक व्यापार, सूचना प्रविधि, वित्त तथा बिमा सेवा, पेसागत विज्ञता र भोजन एवं आतिथ्य जस्ता विषय यसमा पर्छन् । कम आय र सम्पत्ति हुनेले, घर जग्गाको व्यवसाय त के ठुलो आकारमा वस्तु व्यापार पनि गर्न सक्दैनन् । उनीहरूमा उच्च प्रविधिको विकास गर्न वा उच्च प्रविधिको प्रयोग गर्ने क्षमता कम हुन्छ । गरिब परिवारको सदस्यका लागि प्रशासनिक र पेसागत विज्ञताको क्षेत्रमा पहुँचको सम्भावना न्यून रहन्छ । तसर्थ यस क्षेत्रमा वर्गीय दृष्टिले तल्लो वर्गको पहुँच र नियन्त्रण कम हुने देखिन्छ । यो कुरा कम विकसित देशमा झन् बढी लागु हुन्छ । यद्यपि आतिथ्य र भोजनको विषयमा ग्रामीण क्षेत्रमा केही काम गर्न सम्भव छ । तुलनात्मक रूपमा हेर्दा सेवा प्रधान अर्थतन्त्रको विस्तार तीव्र हुन्छ र सङ्कुचिन पनि तीव्र हुन्छ । यस्तो अर्थतन्मा आर्थिक सङ्कटको जोखिमको लय र स्तर पनि छिटो छिटो आउने सम्भावना हुन्छ । उदाहरण हेर्दा भारतमा सेवा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ५४ प्रतिशत अंश ओगट्दा यसमा श्रम शक्तिको संलग्नता ३२ प्रतिशत मात्र छ । यसको अर्थ हो, यसमा सीमित वर्गमा अनुपातिक दृष्टिले धेरै आय थुप्रिएको छ । चीन तुलनात्मक दृष्टिले केही सन्तुलित छ, यहाँ सेवा क्षेत्रमा संलग्न जनशक्ति ४५ प्रतिशत छ । 

अर्थतन्त्रका संरचनागत तथ्य केलाउँदा उत्पादनमा योगदान र श्रमको संलग्नताको दृष्टिले उद्योग क्षेत्र तुलनात्मक दृष्टिले बढी सन्तुलित रहेको देखिन्छ । चीनमा गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको उत्पादनमा ३८ प्रतिशत हुँदा यसमा निर्भर श्रमशक्ति ३२ प्रतिशत छ, भारतका यी अनुपात क्रमशः २८ र २६ प्रतिशत रहेका छन् । अर्थतन्त्रका अन्य चरित्रलाई हेर्दा तुलनात्मक दृष्टिले भियतनामको उत्पादन र श्रमशक्तिको अनुपातिक सम्बन्ध अलि बढी सन्तुलित देखिन्छ । 

जहाँसम्म नेपालको कुरा छ, अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ भने सेवा क्षेत्रको योगदान ६३ प्रतिशत छ । एक दशकअघि यी अङ्क क्रमशः ३४, १५ र ५१ प्रतिशत थिए । उद्योगको क्षेत्रको योगदान भने दक्षिण एसियामै कम हो । उपलब्ध स्रोत र सम्भाव्यता हेर्दा नेपाल अमेरिकी अर्थतन्त्रमा झैँ सेवा क्षेत्रमा केन्द्रीकृत हुनु राम्रो होइन । नेपालमा अझै पनि ६१ प्रतिशत परिवार कृषि कार्यमा संलग्न छन् र तीमध्ये ७४ प्रतिशतको आयको मुख्य स्रोत कृषि नै हो, ५७ प्रतिशत श्रमशक्ति कृषिमा लागेको छ । कृषि कार्यमा संलग्न परिवारमध्ये ४५ प्रतिशतलाई मात्र आफ्नो उत्पादनले १२ महिना खान पुग्छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रूपमा घट्नु र यस क्षेत्रमा संलग्न परिवार तथा जनशक्तिको सङ्ख्या भने खासै नघट्नुले अर्थतन्त्रको संरचनागत अवस्था चुनौती पूर्ण रहेको पुष्टि हुन्छ ।

अर्थतन्त्रको संरचनागत परिवर्तनलाई ठिक दिशामा लैजाने हो भने कृषि क्षेत्रमा उत्पादकत्व अभिवृद्धि गर्न प्रविधिमैत्री लगानी बढाउनु पर्छ । साथै यस क्षेत्रलाई औद्योगिक विकासको आधार बनाउने गरी पूर्वाधार तथा प्रविधिको विकास एवं प्रयोग गर्न सके कम जनशक्तिले धेरै काम गर्न गराउन सकिन्छ, फलस्वरूप उत्पादकत्व वृद्धि हुन्छ, कृषि तथा खनिजमा आधारित उद्योगको विस्तार हुन्छ । अनि हाल कृषि क्षेत्रमा रहेको अतिरिक्त जनशक्ति क्रमशः औद्योगिक क्षेत्रमा सर्छ, गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढ्छ । 

यथार्थमा भन्दा मानिसलाई जिउन चाहिने खाना र दाना, आङ ढाक्न चाहिने नाना र घाम, पानी, हुरी, बतासबाट जोगाउन चाहिने छाना दिने क्षेत्र त कृषि र उद्योग हो । सेवा यी क्षेत्रको विकास र विस्तारका लागि मद्दत गर्ने सहयोगी क्षेत्र हो । कृषिबाट खाने कुरा उत्पादन भएन र उद्योग क्षेत्रले त्यसलाई खान योग्य बनाउनेदेखि अन्य क्षेत्रका लागि चाहिने वस्तु उत्पादन गरेन भने मानव जीवन र आर्थिक समाज कसरी चल्ला र ? अहिले विश्वको अर्थराजनीति बहकिएर सेवा क्षेत्रको विस्तारबाट पैसा कमाउने होडमा कुदेको छ । फलस्वरूप विकसित भनिएका कतिपय देश पनि थरीथरीका मुद्दामा फस्दै गएका छन् । यो यथार्थ बिर्संदै जाँदा विश्वको ठुलो अर्थतन्त्र भनिने संयुक्त राज्य अमेरिका समेत कतिपय कृषि र औद्योगिगक वस्तु बाहिरबाट आयात गरेर ल्याउन बाध्य छ । फलस्वरूप व्यापारघाटा बढेर उसमा चिन्ता र चिडचिडाहट बढेको छ । त्यो चिडचिडाहटले गर्दा अमेरिकी नेतृत्वले विभिन्न देशबाट हुने पैठारीमा शुल्क बढाएर अनावश्यक रूपमा व्यापार युद्ध सुरु गर्दै छ । जसले गर्दा विश्व अर्थव्यवस्थाको स्वाभाविक गति (वल्र्ड इकोनोमिक अर्डर) मा अवरोध खडा हुँदै छ । अमेरिका स्वयम् पनि आत्मनिर्भर अर्थतन्त्र त रहेन छ, अन्तरनिर्भर रहेछ भन्ने पुष्टि भएको छ ।

यस पृष्ठभूमिमा नेपालको भू–बनोट, प्राकृतिक स्रोतको उपलब्धता र र सम्भाव्यता, सामाजिक संरचना, जनसङ्ख्याको चरित्र र अहिलेको जनचेतनाले नेपालको अर्थतन्त्रलाई अमेरिकी बाटोमा हिँड्ने अनुमति दिँदैन । बरु यसले औद्योगिक क्षेत्रकै विस्तार र स्तर उन्नतिको माग गर्छ । अर्थतन्त्र औद्योगिक विकासको चरणको प्ररम्भिक र मध्यविन्दुमा हुँदा उत्पादनमूलक उद्योगको भूमिका बढी रहन्छ । गाउँसहर सम्बन्धको रूप बदलिन्छ । उत्पादनमूलक उद्योगको विकास क्रमले अन्य क्षेत्रलाई क्रमशः औद्योगिक चरणमा तान्छ । अर्थतन्त्र जति विकसित हुँदै गयो त्यसले थप सूचना, यातायातसमेतका थप भौतिक पूर्वाधार, थप प्रविधि र थप व्यवस्थापकीय सिपको माग गर्छ । त्यसले मानिस तथा पुँजीको प्रवाहको गतिलाई बढाई दिन्छ । सूचना आदान प्रदानको काम सेवा क्षेत्रले गर्छ, त्यहाँ सूचना प्रविधिको आवश्यकता पर्छ । 

वित्त र बिमा जस्ता क्षेत्रले अर्थतन्त्रका वित्तीय कारोबारको गति बढाई दिन्छन् । त्यसले औद्योगिक क्षेत्रको विस्तारमा मद्दत पुग्छ । अनि थप यातायात सेवाको मागले यातायात र परिवहनका क्षेत्रमा थप साधनको आवश्यकता पर्छ । जसको उत्पादनले उद्योग बढाउनमा सहयोग पुग्छ । यसरी कृषि र उद्योगसँग जोडिएर विस्तार भएको सेवा क्षेत्रले मात्र अर्थतन्त्रलाई टेवा दिन सक्छ । तसर्थ नेपालले उद्योग क्षेत्रलाई पछि राखेर एकैचोटि सेवा क्षेत्रमा बढी निर्भर रहनु हुँदैन । बरु सेवा क्षेत्रलाई सन्तुलित विन्दुमा राखेर अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने दृष्टिले यसमा नीतिगत तथा कार्यक्रमगत सुधार गर्नु पर्छ । यसो गर्दा अर्थतन्त्र सेवा प्रधानभन्दा उद्योग प्रधान हुन्छ, जुन बढी दरिलो र दिगोसमेत हुन्छ ।