• २६ माघ २०८१, शनिबार

क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यास सार्वजनिक

blog

क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यासको विमोचन समारोह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ २६ गते। क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ। 

सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रूपमा उपन्यासको विमोचन गर्नु भएको हो। 

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रूपमा पायलट प्रेम उपन्यास लेख्नु भएको हो। यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरू समेटिएको उहाँले बताउनुभयो। उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उहाँले जानकारी दिनुभयो। यसैगरी, १० प्रतिशत काल्पनिक कुराहरू राखिएका छन्। उहाँले भन्नुभयो,“यो उपन्यास पाइलट अध्ययन गर्ने विद्यार्थीलाई मार्गदर्शनसमेत हुने छ।” उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताउनुभयो। 

पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताउनुभयो। उहाँले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गर्नुभयो। लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताउनुभयो।  

अर्का टिप्पणीकर्ता कलमराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गर्नुभयो। उहाँले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताउनुभयो।