• १ असार २०८२, आइतबार

बसेरीबासीलाई स्वच्छ खानेपानी

blog

बाह्रबिसे नगरपालिका–२ बसेरीमा एक घर एक धारा निर्माणपछि अनुगमनका क्रममा ।

चित्र मिजार

सिन्धुपाल्चोक, असार १ गते । बाह्रबिसे नगरपालिका–२ कर्थली बसेरी गाउँमा वर्षौंपछि स्वच्छ खानेपानी पु¥याइएको छ । उक्त गाउँमा एक घर एक धारा जडान गरेपछि स्वच्छ खानेपानीको हाहाकार अन्त्य भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो ।

वर्षौंदेखि बसेरी, कर्थली, दुरुमथली, बुदेपा, सिम्ले लगायतका स्थानमा खानेपानीको हाहाकार भएको थियो । तर पछिल्लो स्थानीय सरकार चुनिएर आएपछि वडाभरका बस्तीमा खानेपानी समस्या हटाउन घरघरमा धारा निर्माणका काम अघि बढेको उहाँले बताउनुभयो । 

वडाको सिफारिसमा खानेपानी तथा सरसफाई डिभिजन नं. ३ कार्यालय चौतारा सिन्धुपाल्चोकले १० लाख बजेट उपलब्ध गराएपछि ठोस्टेघारी काभे्र बसेरी बृहत खानेपानी योजना सम्पन्न गरिएको वडा अध्यक्ष तामाङको भनाइ छ । घरघरमा धारासहित खानेपानी पुगेपछि स्थानीयहरुमा हर्षको सीमा नै छैन । यसअघि बसेरीबासीले सुनकोशी खोलाको पानीको भरमा दैनिकी चलाउदै आएका थिए । खोलाको अशुद्ध पानी उपभोग गर्दे आउँदा स्थानीयहरु बिरामी पर्दे आएका थिए । अहिले गाउँमा स्वच्छ खानेपानी पुगेपछि बिरामीको संख्या न्यूनिकरण आएको छ । 

घरघरमा खानेपानी पुगेपछि तरकार खेती, नगदेबाली, अन्य खेतीपातमिा समेत पानी पुगेको छ । बस्ती माथि टयाँकी निर्माण गरेर बस्तीभर खानेपानी पु¥याएपछि सरसफाईमा परिर्वतन आएको छ । उक्त बस्ती मात्रै होइन वडा कार्यालयले वडामा सयौं धारा निर्माण गरेर खानेपानी समस्या हटाएको छ । अझै पनि सयौं धारा निर्माण गर्न बाँकी भएकोले नगरपालिका, प्रदेश सरकारसंग बजेट माग गरिरहेको अध्यक्ष तामाङले जानकारी दिनु भएको छ । 

ओराले पाखा खानेपानी योजना, काफ्ले खानेपानी निर्माण, खोलाखर्क खानेपानी व्यवस्थापन, जिरेल गाउँ ढुंगेधारा संरक्षण तथा निर्माण, बस्नेतटोल डाँडाटोल सिम्ले खापा व्यवस्थापन, जुगे फापरचौर मकैबारी टोल खानेपानी निर्माण लगायतका दर्जन संख्यामा खानेपानी योजनाका कामहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

पछिल्ला समय सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकाले आन्तरिक, प्रदेश, संघीय बजेट र विभिन्न निकायबाट एक घर एक धारा अभियान थालेका छन् । त्यसकारण स्थानीयहरु पानीका हाहाकारबाट बिस्तारै मुक्ति पाउँदै छन् ।