• १५ असार २०८१, शनिबार

नगरप्रमुख पन्थीको हरित शहरको अवधारणा

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ १४ गते ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा हरित शहरको रुपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको छ ।

नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र १४ वटै वडाका अध्यक्षहरुसँग संयुक्त रुपमा बसेको बैठकमा नगरप्रमुख पन्थीले हरित शहरको बारेमा जानकारी गराउनुभयो हो ।

हरित शहरको अवधारणाको बारेमा जानकारी गराउँदै नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिका प्राकृतिक र वातावरणीय हिसाबले आफैमा सुन्दर र हरियाली शहर भएको हुँदा यो अवधारणा नगरको मौलिक कार्यक्रम रुपमा रहने बताउनुभयो ।

नगरका आगामी कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सरसफाइलगायत हरित शहरको परिकल्पना अनुसार अगाडि बढ्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “यसलाई जनसहभागितामा र सबैको सुझावबाट तत्कालै नीतिमार्फत् अगाडि बढाइनेछ ।”

हरित शहरको अवधारणालाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने बताउनुभयो । सोही अवसरमा नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरी पर्यटन पूर्वाधारमा लगानी बढाउने समेत बताउनुभयो ।

उहाँले रेसुंगा क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले हाल निर्माणाधीन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताउनुभयो ।