समय नै व्यवस्थापनमा कुशलता ल्याउने स्रोत हो र समयले सबैलाई बाँधेको हुन्छ । समय व्यवस्थापन व्यवस्थापकीय सिपको रूपमा लिइन्छ । समयको सदुपयोग गर्न अन्य पक्षलाई पनि सक्रिय बनाउनु पर्छ । शासकीय प्रभावकारिता बढाउन समयको ख्याल गर्नैपर्ने हुन्छ । राम्रो नतिजाका लागि समय तालिकाको उपयोग गर्नुपर्ने र समयको पालना नभए अस्तव्यस्तता हुने गरेको पाइन्छ । भनिन्छ, समय बलवान् छ समयको हेक्का गर, ख्याल गर र सफलता हात लाग्छ । समयले पर्खिंदैन बगेको खोला फर्किंदैन भन्ने भनाइले समयको बेगमा आफूलाई समाहित गर नत्र पछुताउनुपर्ने हुन्छ भन्ने सन्देश हो । उन्नति र प्रगति गर्ने मुख्य आधार समयको पालना हो भने समयलाई मूल्यवान् ठान्ने प्रगतिको पथमा हुन्छन् ।
समयलाई स्रोतको रूपमा उपयोग गर्नुपर्ने एप्पलका वैज्ञानिक तथा सियो स्टोभ जब्सले बताएका थिए । कामको कार्यकुशलता र प्रभावकारिता बढाउन समयतालिका र त्यसको पालनाको विषय महत्वपूर्ण छ । समयतालिका सहित कार्य गर्न तत्परता भएका व्यक्ति, संस्था र देशले उच्च लाभ लिएका छन् । समयको अवसरलाई उत्पादन र मौद्रीकरण गरी जीवन उन्नत बनाउन सफल भएका उदाहरण प्रशस्त छन् । समयको महìवसँग विकासको प्रसङ्ग जोडिएको हुन्छ । पूर्वाधार विकासमा समय व्यवस्थापनको पक्ष कमजोर देखिएकाले सोही विषयमा चर्चा गर्न खोजिएको छ ।
विकासका विभिन्न विधामा समय महत्वपूर्ण मानिएको छ । समयबद्ध लगानी र समयतालिका अनुसारको क्रियाकलापले मात्र समयमै अपेक्षित आर्थिक विकासको नतिजा प्राप्त गर्न सकिन्छ । सामाजिक विकासमा पनि समयतालिका अनुसारका समाज परिवर्तन गर्ने शिक्षा स्वास्थ्यसहित सामाजिक न्यायका क्रियाकलापले नतिजा प्राप्त गर्न सहयोग पुगेको छ । समग्र विकासको प्रतिफल समयको सदुपयोग वा व्यवस्थापन गरी समयमा गरेको कर्मको फल प्राप्ति हुन्छ ।
नेपालको पूर्वाधार विकासमा समय पालनाका विषय भने आलोचित छ । राज्यले राष्ट्रिय गौरवका आयोजना सडक सिँचाइ विद्युत् द्रुतमार्ग कोरिडोर जस्ता क्षेत्र प्राथमिकतामा देखिए भने धार्मिक स्थलको विकास बहुउदेश्य डाइभर्सनलगायत पूर्वाधार विकासका काम भइरहेका छन् । विमानस्थल, महत्वपूर्ण भवन र अन्य संरचनासहित व्यापार सहजीकरणका लागि एकीकृत भन्सार जाँच गर्ने पूर्वाधार र सुक्खा बन्दरगाह एवं निर्यात प्रवर्धन गर्न सेजको निर्माण गर्ने काम पनि समयमै सम्पन्न गर्न सकिएन । त्यसै गरी प्रदेशले पनि प्रदेश गौरवका आयोजना निर्माण गर्दै छन् । पालिकाहरू पनि पूर्वाधार विकासका लागि प्राथमिकता दिई काम गरिरहेका छन् । समग्रतामा हेर्दा तिनै तहका पूर्वाधार विकासमा समयमै काम हुन नसकेका र केही आयोजना अलपत्र वा रुग्ण हुन पुगेको पाइन्छ । आयोजनाको समयमै काम सम्पन्न हुनुपर्नेमा धेरै आयोजना समय पालनामा कमजोर भइ समयमै सफल हुन सकेका छैनन् । निर्माण व्यवसायी र सरकारबिच सम्झौता भएका आयोजनामा धेरै समस्या देखिएका छन् । एकले अर्कोलाई आरोप लगाउने र जिम्मेवारी बहन गर्न पन्छिने प्रचलन बढ्दो छ । सामाजिक विकासका लागि कमैया र हलिया मुक्त कार्यक्रमको समयमा व्यवस्थापन नहुँदा गुनासो र आलोचना देखिए ।
विगतमा मेलम्ची खानेपानी आयोजना, चमेलिया जलविद्युत् आयोजना, केही सिँचाइ आयोजना आदि समयमा सम्पन्न नहुँदा लागत बढ्न गई आयोजना महँगो भएका र अर्कोतिर समयमा उपभोग गर्न नपाउँदा आपूर्ति व्यवस्थापनमा समेत समस्या आएको थियो । यी प्रतिनिधिमूलक घटना मात्र हुन्, समग्रमा हेर्दा विकास निर्माणमा हाम्रो गति टिठलाग्दो देखिन्छ । पुँजीगत बजेटको हिस्सा क्रमशः कम हुँदै जाने जनताको विकासको अपेक्षा प्रतिदिन बढ्दै गएको र कार्य क्षेत्रमा हाम्रो कार्यसम्पादनको अवस्था दयनीय हुन थालेको छ । कार्ययोजना र समय तालिकासहित कार्य जिम्मेवारी दिइदा जिम्मेवारी र जवाफदेहिपनाको क्रमशः ह्रास हुँदै जानु चिन्ताको विषय भएको छ । हाल देशभर १४ अर्बका १५३ आयोजना अति रुग्ण देखिएका छन् । सरकारको पक्षबाट हेर्दा पुँजीगत खर्च गराई पनि कमजोर हुन गई बजारको क्रियाशीलतामा समेत असर पुगेको भनाइ छ । आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रणालीले वित्तीय जोखिमका साथै समय पालनाको असफल अभ्यास सरकारबाटै भएको छ । सरकारी काम कहिले जाला घाम भने झैँ कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नसक्दा शासकीय व्यवस्थामै प्रश्न खडा हुन थालेका छन् । समयमै कामको नतिजा दिनेभन्दा अन्य अवरोधको निहुँ निकाल्ने चलन बढ्दो छ । केही पूर्वाधारका आयोजनाको समय अगावै काम सम्पन्न गरी पुरस्कृत भएका दुर्लभ उदाहरण पनि छन् । यसले के देखाउँछ भने पूर्वाधार विकासमा सक्रिय र सक्षम व्यवसायीहरू पनि छन् तर सङ्ख्या सानो हुँदै गएको भनाइ छ ।
नेपालको समग्र विकासमा समय पालना कमजोर रहेको छ भने पूर्वाधार विकासमा समय पालना जटिल हुँदै गएको आरोप छ । भौतिक वा पूर्वाधार विकासको सहयोगी र समन्वयकारी पक्ष पनि दोषी हुन सक्छ । जस्तै समयमा निर्माण सामग्री उपलब्ध हुन नसक्नु, श्रमिकको व्यवस्थापन, कार्यस्थलमा द्वन्द्वको अवस्था, प्राविधिक परामर्शलगायतका विषयमा पूर्णता नहुँदा समय पालनाका लागि अवरोध हुन्छ नै । पूर्वाधार विकासका लागि उल्लेखित समस्याको सरकार पक्ष र स्वयम् निर्माण व्यवसायीले योजना बनाई काम गर्नु पर्छ । आयोजना सुरु हुनुपूर्व नै समस्या र जोखिमको तालिकीकरण गरी समय अनुसार व्यवस्थापन गर्ने रणनीतिको खाँचो रहेको छ ।
पूर्वाधार विकासमा हाल देखिएका समस्याको समाधान गर्न समय व्यवस्थापनमा जोड दिन आवश्यक छ । सरकारले समयमा कार्यसम्पादन कुशल बनाउने पहिलो कर्तव्य हुन आउँछ । पुँजीगत खर्चको समय पालना कमजोर भएको र सरकार आलोच्य हुन परेको विषयमा कमजोरीको खोजी गर्ने, बजेट तर्जुमा गर्दा बनाइएको कार्ययोजनाको समय तालिका पालना गर्ने, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई कामसँग आबद्ध गर्ने, कार्य सम्पादनमा उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने र कमजोर कार्यसम्पादनको उपचार गर्ने, वृत्तिविकासलाई कार्यसम्पादनको नतिजासँग जोड्ने विषयमा ध्यान दिन सके कार्ययोजनाको समय पालना भई समयमै नतिजा प्राप्त गरी विकास निर्माणको कार्यसम्पादनमा समेत प्रभावकारिता ल्याउन सकिन्छ । विकास निर्माणको जिम्मेवार व्यवसायीले कार्य जिम्मेवारी लिनुपूर्व कार्ययोजनाको पालना गर्ने सर्तको अक्षरशः पालना गर्ने र अवरोध वा जोखिम व्यवस्थापन गर्न रणनीतिक रूपमा अघि बढ्नुपर्ने हुन्छ । निर्माण सामग्री, मेसिन, श्रम र प्राविधिक परामर्शको समय तालिका बनाई व्यवस्थापन गर्दै जानु पर्छ । कामका सिलसिलामा देखिने अवरोध वा द्वन्द्वको समाधान गर्न दुवै पक्ष समय अनुसार बैठक गरी समस्याको समाधान समयमै गर्नु पर्छ । पूर्वाधार विकासका लागि मुख्यतः सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानको अक्षरशः पालना गर्ने गराउने विषयमा सचेत रहने र आर्थिक पक्षको व्यवस्थापन गर्ने ऐन नियममा ध्यान दिन आवश्यक छ । विकास निर्माण लागि वन क्षेत्रको उपयोग जग्गा प्राप्तिका विषय पनि सरल सहज भएमा कार्य सहज भई अवरोध हुने थिएन यसका लागि समन्वकारी भूमिकामा ध्यान दिनु पर्छ । निर्माण व्यवसायीले मजदुरको ज्यालाको सर्त अनुसार कार्यान्वयन गर्न कन्जुस्याइ गर्नु हुँदैन । विकास निर्माणमा श्रमिकको व्यवस्थापन पनि महत्वपूर्ण विषय हो ।
सबैका लागि समय उत्तिकै महत्वपूर्ण छ । कम लागत, समय र साधनको उपयोगबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सहज बनाउने भएकाले समय व्यवस्थापनको महत्व दर्शाउँछ । समयमै सफलता प्राप्त भए पूर्वाधार विकासबाट आपूर्ति सहज भई व्यावसायिक लाभ र जनजीविकामा सुधार ल्याउन सकिन्छ । विकासको प्रतिफल प्राप्त गर्न समयको उपयोगमा ध्यान दिनुपर्ने हुन्छ । हाम्रो परिवेशमा हेर्दा समयमा पूर्वाधार विकासमा अवरोध भई काम समयमा नहुँदा खर्च गर्ने प्रणालीमा समेत कमजोर अवस्था देखिएको छ । जनताको विकास अपेक्षाको सम्बोधन गर्न समय व्यवस्थापनमा ध्यान दिनै पर्ने हुन्छ । हाल देखिएका रुग्ण आयोजनाको समाधान गर्ने र अबका दिनमा रुग्ण आयोजना हुन नदिने रणनीतिको आवश्यकता छ । समयको ख्याल गरौँ खेर नफालौँ ।