• १३ साउन २०८१, आइतबार

निजगढमा विमानस्थल बनाउनु उपयुक्त छ : पूर्वप्रधानमन्त्री नेपाल

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १३ गते। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त रहेको बताउनुभएको छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गहिरो र व्यापक अध्ययनपछि निजगढमा विमानस्थल निर्माणको कार्य बल्ल-बल्ल अघि बढेको उल्लेख गर्नुभयो। 

“झण्डै दुई अर्ब रुपियाँको फास्ट ट्रयाक्को काम भइसकेको छ, देश सबैको साझा हो। विकासको कामलाई अघि बढाउनुपर्छ। तर, त्यस्तो नगरेर रोक्न खोजिएको कुरा बढो दुखको कुरा हो”, नेपालले बताउनुभयो।

पटक–पटक आफूले विमानस्थलको भ्रमण एवम् अवलोकन गर्ने मौका पाएको बताउनु हुँदै उहाँले जंगल नै नभएको ठाउँमा विमानस्थल कार्य रोक्ने कारण के हो भनेर प्रश्न गर्नुभयो। 

यसबारे राजनीतिक दल र सबैले गम्भीरताका साथ लिनुपर्ने भनाइ उहाँको छ। देशमा व्यापार घाटा बढेको भन्नुहुदै उहाँले उत्पादनमाा वृद्धि गर्दै निर्यातलाई बढाउनुपर्नेमा जोड दिनुभएको छ। 

नेपालीको कमाएको पैसा अत्यन्त छिट्टै खर्च गर्ने बानी लागिरहेको उहाँले बताउनुभयो। बिहीबार सर्वोच्च अदालतले उत्प्रेषणको आदेश दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो।