• ७ मंसिर २०८१, शुक्रबार

अमेरिकामा सङ्घर्षरत युवाको कथा ‘लाइफ इन एलए’

blog

सुकृत नेपाल 

काठमाडौं, जेठ १३ गते। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैलीको चित्रण हो चलचित्र  ‘लाइफ इन एलए’। अमेरिकी सहर लस–एन्जल्समा अधिकांश दृश्य छायांकन गरिएको चलचित्रको कथा व्यास बिसुको वरिपरी घुमेको छ। चलचित्रले अमेरिकामा बस्ने ९९ प्रतिशत नेपालीको वास्तविक कथालाई उजागर गरेको छ। चलचित्रले अमेरिकामा बस्दै आएका नेपाली कस्तो संघर्ष गरेर बसिरहेका छन् भन्ने कुरालाई  देखाउन खोजेको छ। 

व्यास एक जना नेपाली केटो जो सपनाको संसार खोज्न अमेरिकामा छन्। उनी इलेक्ट्रिकल इन्जिनियर हुन्। जब उनको भेट अनुशासँग हुन्छ उनले आफनो एक्लोपनाबाट कसैको साथ पाएको महसुस गर्छन्। उनी अनुशालाई भित्रभित्रै मन पराइरहेका हुन्छन् तर अनुशालाई यो कुराको अवगत भने हुन दिदैनन्। 

व्यास इन्जिनियर भए पनि वर्षको एकपटक जुलाई ४ तारिखको दिन अमेरिकामा नेपाली समुदायलाई भेला गराएर एनएससीको आयोजना गर्ने गर्छन्। तर अचानक उनको जीवनले फरक मोड लिन्छ र उनको जीवनशैली उकालो उक्लिने भन्दा ओरालोतिर धकेलिन्छ। व्यासले एनएससीमा आफ्नो सबै पैसा गुमाउँछन्। उनको ग्रीनकार्डको अवधि पनि सकिन्छ र यता प्रेमी अनुशासँग पनि केही सामान्य बहस। 

भनाभनका कारण उनीहरु छुटिन्छन्। यही हो चलचित्र ‘लाइफ इन एलए’ भित्रको कथा। व्यास पूर्ण रुपले असफल हुँदाहुँदै पनि उसले आफनो मनोबल भने उच्च नै राखेको हुन्छ। उसलाई थाहा छ कि उ फेरि संघर्ष गरेर सबै गुमेको कुरा पाउन सक्छ। यी र यस्तै घटनाक्रमबीच चलचित्रको कथा रुमलिएको छ। मेहिनत र उच्च मनोबलले व्यासले आफूले गुमाएको सबैकुरा फेरि पाउँछन्। ती सबैकुरा उनले कसरी हासिल गरे भन्ने प्रसंग निर्देशकले चलचित्रको कथामा देखाउन खोजेका छन्।    

ग्रीनकार्डको म्याद सकिएपछि वा कम्पनीले एचओभी नदिएपछि एउटा युवाको अवस्था कस्तो हुन्छ भन्ने कुराले दर्शकलाई भावुक बनाउनसक्छ। ग्रीनकार्ड हासिल गर्न के कस्ता प्रकृया पूरा गर्नुपर्छ भन्ने कुरा चलचित्रले उजागर गरेको छ। अमेरिका गएपछि कति नेपाली वर्षौं नेपाल आउन पाउँदैनन्। उनीहरु किन नेपाल आउन सक्दैनन् त ? चलचित्रमा यस्ता विविध पाटोलाई पनि उठान गर्न खोजिएको छ। 

अमेरिकासहित नेपालको पर्यटकीय नगरी पोखरामा पनि छायांकन गरिएको चलचित्रले अमेरिकासंगै नेपालमा पनि युवाहरुले चाहे भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरालाई प्रष्ट्याउन खोजेको छ। चलचित्रमा त्रिकोणात्मक प्रेम कथा देखाइएकोछ। एकतर्फ व्यास र अनुशाको प्रेम छ भने अर्कोतर्फ शिल्पाको व्यासप्रति एकोहोरो प्रेम। शिल्पा व्यासको प्रेम पाउन कति सफल हुन्छिन् भन्ने चलचित्रले देखाउँछ।  

चलचित्रको प्रमुख भूमिकामा देखिएका व्यास बिसु यसका निर्माता पनि हुन्। अभिनयको हिसाबले पहिलो चलचित्र भएको हुनाले पनि ब्यासको अभिनय नराम्रो भन्न मिल्दैन। उनको अभिनय औसत छ। नायिकामा अकेशा बिष्ट र शिल्पा मास्केको अभिनयलाई मध्यम भन्नुपर्छ। अन्य कलाकार गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवालले पनि आफ्नो ठाउँबाट राम्रै अभिनय कोशलता देखाएका छन्। 

पहिलो डेब्यु निर्देशन गरेका चलचित्रका निर्देशक सूर्य एन श्रेष्ठको निर्दैशकीय पक्षमा केही सानोतिनो कमजोरी त होलान तर उनले अमेरिकाको मनोरम दृश्यलाई सिनेम्याटोग्राफर मार्फत सफा र सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।