चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १९ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्न सुरु गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने योजनासहित गाउँपालिकाले गुणस्तर खस्किनुको मुख्य कारण खोजी गर्न सुरु गरेकोे हो।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) सहितका पदाधिकारीले विद्यालय विद्यालयमा पुगेर शैक्षिक गुणस्तर सुधारका उपायबारे सरोकारवालासँग छलफल गर्न थालेको छ। खस्कदो शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक लगायतका सरोकारवालाले निभाउनुपर्ने भूमिकाका विषयमा छलफल सुरु गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो।
उहाँका अनुसार शनिबार वडा ४ इखाबुस्थित सेवालुङ माध्यमिक विद्यालयमा पुगेर स्थानीय सरोकारवालासँग शैक्षिक गुणस्तर खस्किनुको कारणबारे सर्वेक्षण र विश्लेषणसहित छलफल गरिएको छ। सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकरी, अभिभावक, वडाका जनप्रतिनिधि लगायतको सहभागितामा अन्तक्र्रियात्मक छलफल गरिएको उहाँले जानकारी दिनुभयो।
छलफलका क्रममा सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएकोप्रति सबैले चिन्ता व्यक्त गर्नुभएको बताइएको छ। मौजुदा शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बन्धित पक्ष तथा सरोकारवालाको भूमिका लगायतका विषय केन्द्रित छलफल भएको फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो।
शैक्षिक गुणस्तर सुधार्नका लागि गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा पुगेर गुणस्तर खस्किनुको कारणबारे छलफल गरिने जनाएको छ। शैक्षिक गुणस्तर खस्किनुको मुख्य कारण पत्ता लगाउन अधिकतम् पहल गर्ने र गुणस्तर सुधारको थप योजना बनाई कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ। गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारकै योजनाअन्तर्गत यसअघिदेखि नै उच्च अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीलाई सत्–प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।