पशुपतिनगर समाचारदाता
पशुपतिनगर, माघ १९ गते । इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् ।
नगरले पछिल्लो समय फरक अभ्यास सुरु गरेको छ । नगर क्षेत्रमा दर्ता भएका २०१ वटा टोल विकास संस्थामा ‘टोल विकाससँग नगरप्रमुख’ कार्यक्रम सुरु गरिएको छ । टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० बमोजिम सव्रिmय रहेका टोल विकासका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा कक्षा सञ्चालन भइरहेको छ । नगरप्रमुख रणबहादुर राई आफँै पुगेर वडाभरका टोल विकास पदाधिकारीलाई एकै ठाउँमा जम्मा पारी उनीहरूको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिने काम गरिरहनुभएको छ । नगरप्रमुख राई जस्तै गरी नगर उपप्रमुख दुर्गाकुमार बराल पनि टोलवासीसँग छलफल र संवादमै हुनुहुन्छ ।
नगरप्रमुख राईले भन्नुभयो, “टोलबाटै विकास गर्नका लागि सबैभन्दा पहिला टोल विकास समितिमा बस्नेले आफ्नो काम, कर्तव्य र अधिकार बुझ्नु पर्छ, अनि मात्र के गर्ने भन्ने प्रष्ट हुन्छ ।”
नगरप्रमुख राईले टोलको सरसफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, विभिन्न सिफारिस गर्ने, गरिब असहायको तथ्याङ्क सङ्कलन गर्ने, शिक्षाको अवस्था अनुगमन गर्ने, सुत्केरी महिला र बच्चाको अवस्था बुझ्ने जस्ता काम टोल विकासले गर्नुपर्ने बताउनुभयो ।
सूर्योदयले आगामी आर्थिक वर्षदेखि टोल विकास संस्थाका लागि बजेट विनियोजन गर्ने योजना अगाडी सारेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनुभयो । नगरप्रमुख राईले भन्नुभयो, “फिक्कलको बरबोटे क्षेत्रमा कुनै बेला मानिस मुख थुनेर हिड्नुपर्ने गरी फोहोर थुप्रिएको हुन्थ्यो । टोल विकास संस्था सव्रिmय भएपछि अहिले बरबोटे नगरको सबैभन्दा सफा ठाउँ बनेको छ ।”
नगरले १४ वटै वडाका टोल विकास संस्थासँग तल्लो तहका राय सुझावसमेत सङ्कलन गर्ने काम गरिरहेको छ । नगरका उपप्रमुख दुर्गाकुमार बरालले टोल विकाससँगको कार्यक्रमले टोलका तल्लो तहका समस्या बुझ्न सहज भएको बताउनुभयो । नगरप्रमुख राईले टोल विकास सव्रिmय भएदेखि टोलबाटै मदिराको बेचबिखनमा न्यूनीकरण गर्न सकिएको बताउनुभयो । उनीउटार टोल विकास संस्थामा अध्यक्ष पुष्पा न्यौपानेले नगरले प्रशिक्षण दिएपछि टोल समितिले गर्ने काम धेरै रहेछन् भन्ने थाहा पाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माण र सुशासनको सुरुवात टोल समितिले नै गर्न सक्ने रहेछ भन्ने महसुस भएको छ ।”