• १२ असार २०८१, बुधबार

कृष्ण सेन 'इच्छुक'काे सपना पूरा हुने दिशामा छ: माओवादी अध्यक्ष प्रचण्ड

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिद कृष्ण सेन 'इच्छुक'लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ र जनसांस्कृतिक महासंघद्वारा संयुक्त रूपमा २० औं सहिद कृष्ण सेन 'इच्छुकु' स्मृति तथा सांस्कृतिक वलिदान दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहेको स्मरण गर्नुभयो ।

उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

'म अध्यक्ष भए पनि उहाँको कुरा सुन्दा कुनै असाधारण व्यक्तिको दर्शन, विचार, प्रवचन सुनेको जस्तो हुन्छु' अध्यक्ष प्रचण्डले भन्नुभयो, 'उहाँ समाजवादको लागि वलिदान दिएर मर्नुभए पनि हामीसामू सँधै हुनुहुनेछ ।'

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको लागि वकालत गर्न सँधै लागिपर्ने बताउनुभयो ।

सो कार्यक्रममा जनही ५० हजार रूपियाँ नगदसहित कृष्णसेन इच्छुक स्मृति पुरस्कार पत्रकारद्वय महेश्वर दाहाल र गोविन्द आचार्यलाई र जनही २५ हजार रूपियाँ नगदसहित शक्ति तारा स्मृति पुरस्कार पत्रकारद्वय वलराम थापा र लक्ष्मी पुनलाई प्रदान गरिएको छ ।

यसअघि सहिद सेनको स्मृतिमा काठमाडौंमा प्रभातफेरि निकालिएको थियो। तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेर सहिद सेनले जनादेश साप्ताहिकका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर पत्रकारिता गर्नुभएको थियो ।

उहाँको ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरि’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् ।

सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएपछि जेठ १३ गते मृत्यु भएको बताइन्छ ।