काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिकाको प्रमुखमा “लौरो” निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह भारी मतसहित विजयी हुनुभएको छ । उहाँले ६१ हजार ७६७ मत ल्याउनुभयो । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार बालेनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का केशव स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गर्नुभयो ।
महानगर उपप्रमुखमा एमालेकी सुनिता डंगोल पनि फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको हो । गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत ल्याउनुभएको छ ।
को हुन् वालेन्द्र साह ?
काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साहको जन्म सन् १९९० मा भएको हो । विभिन्न गीत लेखन, गायन, निदेशन र र्याप गीतमार्फत् युवा पुस्तामा अधिक रुचाइएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।

पुर्ख्यौली घर महोत्तरी जिल्लामा हो । साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तरको शिक्षा हासिल गर्नुभएको छ ।
देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
उपप्रमुख सुनिता डंगोल
काठमाडौं महानगरको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले यसअघि पनि कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उहाँको छुट्टै पहिचान छ । वैशख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्रै उहाँ एमाले प्रवेश गरेर उपप्रमुखको उम्मेदवार बन्नुभएको थियो । सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा उहाँ विजयी हुनुहुभएको थियो ।
यसैगरी, नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धनमा पनि उहाँले महत्वपूर्ण योगदान रहेको छ । काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा उहाँले प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।
काठमाडौं महानगरमा कुन वडामा कसको नेतृत्व ?
काठमाडौं महानगरपालिका- १ को वडाअध्यक्षमा एमालेका भरत लाल श्रेष्ठ, २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका विरेन्द्र प्रजापति, ६ मा कांग्रेसका भुवन लामा, ७ मा कांग्रेसका विमलकुमार होडा, ८ मा कांग्रेसका आशामान संगत, ९ मा कांग्रेसका रामजि भण्डारी, १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसका हिरालाल तण्डुकार, १२ मा कांग्रेसका बालकृष्ण महर्जन, १३ मा एमालेका धु्व नारायण मानन्धर, १४ माकांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ ।
१५ मा नेकपा (एकीकृत समाजवादी) का ईश्वरमान डंगोल, १६ मा कांग्रेसका मुकुन्द रिजाल, १७ मा कांग्रेसका नविन मानन्धर, १८ मा एमालेका न्हुछेकाजी महर्जन, १९ मा कांग्रेसका राजेश कुमार श्रेष्ठ, २० मा कांग्रेसका राजेन्द्र मानन्धर, २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, २२ मा एमालेका चिनीकाजी महर्जन, २३ मा एमालेका मचाराजा महर्जन, २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २५ मा कांग्रेसका राजेश डंगोल, २६ मा कांग्रेसका खेमराज तिवारी, २७ मा कांग्रेसका योगेश कुमार खड्गी, २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली विजयी हुनुभएको छ ।
महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचित उम्मेदवारलाई बधाई दिँदै निर्वाचन आयोगले महानगरको औपचारिक घोषणा कार्यक्रम भने शुक्रबार बिहान ८ बजे गर्नेछ ।