• १४ माघ २०८१, सोमबार

डोपिङको आड स्वास्थ्यमा खेलबाड

blog

आ-आफ्नो क्षेत्रमा उत्कृष्ट बन्ने चाहना मानिसमा सदैव रहिआएको छ । चिकित्सा क्षेत्रमा चिकित्सक, कानुन क्षेत्रमा अधिवक्ता, उद्योग क्षेत्रमा उद्यमी, इन्जिनियरिङ क्षेत्रमा इन्जिनियर, परीक्षाफल प्रकाशनका बेलामा परीक्षार्थी र त्यस्तै खेल क्षेत्रमा खेलाडी । नतिजाका लागि सबैले आआफ्नो क्षेत्रमा खुब मेहनत गर्छन् । कतिपय सफलताका लागि गलत बाटो अपनाउनसमेत पछि पर्दैनन् ।

खेलकुदमा त उत्कृष्ट बन्नका लागि कडा मेहनत (तालिम) सँगसँगै शक्तिवद्र्धक औषधिलगायत अन्य तत्व प्रयोगको लामो इतिहास छँदै छ । यस्ता शक्तिवद्र्धक औषघिको प्रयोग सन्दर्भमा महाभारतमा भीमलाई नागलोकबाट शक्तिवद्र्धक औषधि सेवन गराई सयौँ गुणा वलिष्ठ तुल्याएर पठाएको उल्लेख भएकै छ ।

हामी खेल र व्यायाममा शक्तिवद्र्धक तत्वको प्रयोग र त्यसबाट स्वास्थ्यमा पर्न सक्ने दुष्प्रभाव तथा व्यायामसँग सम्बन्धित हर्मोन, रासायनिक यौगिक र इन्जायम विषयमा चर्चा गर्छौं । व्यायामका अनेक क्षेत्र छन्; शारीरिक सुगठन खेल व्यायामको एक उत्कृष्ट किसिम हो । यो विश्वभरि रुचाएर खेलिने एक प्रतिस्पर्धात्मक खेलमा पर्दछ । यो आर्थिक तवरमा खर्चिलो, पथपरहेजमा बसेर शारीरिक बल खर्चेर अति मेहनत गर्नुपर्ने खेल हो ।

यस खेलका खेलाडीले ‘म्याक्रो’ र ‘माइक्रो’ न्युट्रियन्ट्सको राम्ररी सन्तुलित व्यवस्था गर्नुपर्ने हुन्छ । खेलाडीलाई ४० को हाराहारीमा विभिन्न न्युट्रियन्ट्स अर्थात् पोषक तत्व चाहिन्छ । कुनै पनि न्युट्रियन्टको अलिकति पनि अभाव भयो भने लक्ष्य प्राप्तिमा बाधा हुन पुग्छ । यस खेलका खेलाडी शारीरिक तवरमा सुगठित, सदृढ, सुडौल तथा आकर्षक व्यक्तित्वका धनी हुनु पर्छ ।

यस खेल प्रतियोगिताको नतिजा (कति गोल, कति दूरी, कति समयभित्र, कति तौल उठाउने आदि) मा नभई स्वरूपमा मापन हुन्छ । जसलाई निर्णायक मण्डलीले निर्णय गर्दछ । यस खेलका प्रतियोगिता क्लबदेखि स्थानीय, गाउँ, जिल्ला, नगर, प्रदेश, राष्ट्रिय, क्षेत्रीय, महादेशीय र अन्तर्राष्ट्रियस्तरसम्मका हुन्छन् । विजेता खेलाडीलाई पदक, ट्रफी तथा विभिन्न उपहारका साथै खेल स्तर अनुसार आकर्षक नगद पुरस्कार पनि प्रदान गरिन्छ । यस खेलको गैरव्यावसायिक (एमेच्योर) प्रतियोगितामा उपाधिको ठूलो महत्व हुन्छ तर नगद प्रदान हुँदैन ।

विश्वमा खेलिने विभिन्न प्रतिस्पर्धामा खेल प्रदर्शन उकास्न, स्वर्ण पदक प्राप्त गर्न खेलाडीले कडा मेहनत त गर्छन् नै ‘पर्फर्मेन्स इन्ह्यान्सिङ’ हेतु प्रतिबन्धित तत्व (ओपियट्स) तथा हर्मोन वा हर्मोन जस्ता तìव सेवन गर्दै आएको लामो इतिहास छ । खेलकुदमा यस किसिमको प्रयोगलाई ‘डोपिङ’ भनिन्छ । यस्तो डोपिङ तीन तरिकाबाट अपनाइन्छ ः (क) इन्जेस्ट (निलेर) (ख) इन्जेक्ट (मांसपेशीमा हाइपोडर्मिक सुई घोचेर र (ग) ट्रान्सडर्मल (छालामा  लेप लगाएर) ।

स्वच्छ खेल भावना (प्ले ट्रिउ) विपरीत र यी तत्व प्रयोग गर्ने खेलाडीको स्वास्थ्य र जीवनमाथि खतरा हुन सक्ने भएकाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी), वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) तथा अन्तर्राष्ट्रिय खेलकुद महासङ्घहरूले खेलकुदमा यस्ता तìवको डोपिङमाथि प्रतिबन्ध लगाएका छन् ।

यस्ता प्रतिबन्धित तìवको समूहमा साइकोमोटर–उत्तेजकहरू,  सिम्पाथोमिमेटिक एमिन्स, विविध केन्द्रीय स्नायु प्रणाली उत्तेजकहरू,  नार्कोटिक एनाल्जेसिक, एनाबोलिक स्टेरोइड्स पर्दछन् । ‘रक्तडोपिङ’ माथि पनि प्रतिबन्ध लगाइएको छ ।

सन् १९६० को प्रारम्भताका खेलकुदमा डोपिङ बिरलै सुनिन्थ्यो र एम्फेटामाइन, सिम्पाथोमिमेटिक एमिन्स इफेड्रिन जस्ता साइकोमोटर उत्तेजकको प्रयोगमा मात्र त्यो सीमित मानिन्थ्यो । हुन त हर्मोन र हर्मोन जस्ता पदार्थले खेलकुदमा सम्भवतः सन् १९५० तिरै प्रवेश पाइसकेको विश्वास रहे पनि त्यसको १०–१५ वर्षपछि यी औषधिको व्यापक प्रयोगले खेलकुदमा नाटकीय रूपमा परिवर्तन आयो ।

सन् १९५२ जुलाई १९ देखि अगस्त ३ सम्म हेलसिङ्कीमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा नेदरल्याड्सका पौडी खेलाडीले खेलस्तर उकास्न नारकोटिक्समा पर्ने मर्पिmन, हेरोइन, कोडिन, कोकिन जस्ता स्वास्थ्यलाई खतरनाक हुने ओपियट प्रयोग गरेको दस्ताबेज छ । सन् १९५४ मा तत्कालीन सोभियत सङ्घका खेलाडीले भारोत्तोलन खेलमा प्रभुत्व जमाउन सफल रहनुको पछाडि ‘टेस्टोस्टेरोन’ को भूमिका रहेको बताइन्छ । त्यस्तै १९८० को दशकतिर एक जना बडिबिल्डरले इन्जेक्सनद्वारा डोपिङ एजेन्ट्स प्रयोग गर्दा सिरिन्ज र सुई पूर्णतया स्टेरिलाइज (निर्मलीकरण) नभएका कारण उनलाई एचआइभी सङ्क्रमण भएको घटना उल्लेख छ ।

हर्मोन डोपिङको नकारात्मक दुष्प्रभावमाथि धेरै अनुसन्धानले देखाए अनुसार अचेल खेलकुदमा डोपिङ एजेन्टका रूपमा प्रयोग हुने हर्मोन र हर्मोन जस्तो पदार्थको ओभरडोजले दुष्प्रभाव निम्त्याउन सक्छ । जस अनुसार खेलाडीको स्वास्थ्यमा ठूलो दुष्प्रभाव पर्न सक्छ । ती दुष्प्रभावलाई हर्मोनल प्रभाव र विषाक्त प्रभावमा विभक्त गर्न सकिन्छ ः

(क) हर्मोनको गडबडीले महिला खेलाडीमा ठूलो प्रभाव पर्छ । जुन अपरिवर्तनीय हुन्छन् । जस अनुसार महिलाको शरीरमा पुरुषको झैँ रौँ उम्रनु, तालु खुइलिनु, स्वर घोक्रो हुनु, मांसपेशी बढ्नु, पुरुषत्वको मनोविज्ञान विकास हुनु, भगाङ्कुर ठूलो हुनु, स्तन खुम्चनु, तीव्र यौनइच्छा जागृत हुनु, डन्डीफोर आउने समस्या बढ्नु आदि लक्षण देखिन्छ ।

पुरुष खेलाडीमा शुक्राणुको सङ्ख्या न्यून हुनु वा गुणस्तरमा ह्रास आउनुलगायत अन्य थुप्रै दुष्प्रभाव हुन्छन् । शुक्राणुको सङ्ख्या र गुणस्तर सम्भवतः सुधार्न सकिन्छ तर बारम्बार र लामो समयसम्मको प्रभावले समस्या अपरिवर्तनीय भएर ‘टेस्टिकुलार एट्रोफी’ र स्थायी बाँझोपना उत्पन्न हुन सक्छ ।

त्यसबाहेक मनोविज्ञानमा समस्या, बढ्दो आक्रामकता (मुड स्विङ), ‘हाइपर एक्टिभिटी’, निद्रा समस्या तथा धेरै गम्भीर दुष्प्रभाव हुँदा हड्डी नै क्षय हुने, गाइनास्कोमास्टिया (स्तन वा मुन्टा बढ्नु) साथै यौन इच्छ तीव्र जागृत भए पनि सहवास गर्न असक्षम हुन्छ ।

अङ्ग विषाक्त हुने समस्याको कुरा गर्दा उच्च ‘ट्रान्समिनेज’ (एक इन्जाइम) गतिविधि, ‘कोलेस्टेसिस’ र जन्डिसका साथै कलेजोमा क्षति पुग्ने समस्या रहन्छ । यी प्रभाव निको पार्न सकिन्छ तर फेरि एनाबोलिक स्टेरोइडको लामो समय र धेरै प्रयोगले स्थायी रूपमा कलेजो वा मिर्गौलामा क्षति पुग्दछ । पेइलोसिस हेपाटाइटिस साथै केही खालका क्यान्सरको घटना पनि रेकर्ड भएको छ ।

सन् १९८० को दशकतिर गरिएको एक खोजमा हर्मोन–डोपिङले कार्डियोभास्कुलर प्रणालीमा पनि कुप्रभाव पार्न सक्ने सम्भावना देखिएको थियो । बढी मात्रामा एनाबोलिक स्टेरोइड र टेस्टोस्टेरोन प्रयोग गर्ने खेलाडीमा हितकारी कोलेस्टेरोल एचडिएलको मात्रा घटेको देखियो । यस खोज अनुसार आर्टिओस्क्लेरोटिक रोग (धमनीभित्र आउने समस्या) सँगसँगै उक्त रोगका जटिलताले हृदय, मस्तिष्क र मिर्गौला आदिमा विकार आउने खतरा उच्च हुने थाहा भयो ।

हर्मोन डोपिङमा अन्य तत्व पनि प्रयोग गरिन्छ । जस्तै ह्युम्यान कोरोनिक गोनोडाइट्रोपिन (एचसिजी), एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन (एसिटिएच), ह्युम्यान ग्रोथ हर्मोन (एचजिएच), भासोप्रेसिन इत्यादि । यी तत्वको अधिक प्रयोगले पनि स्वास्थ्यमा दुष्प्रभाव पर्दछ ।

यस खालको डोपिङबाट खेलाडीमा पर्ने गम्भीर समस्यालाई सम्बोधन गर्न सन् १९८५ मा स्टकहोममा बसेको एन्डोक्राइनोलोजिस्ट्स (हार्मोन विशेषज्ञहरू र खेल चिकित्सा विशेषज्ञहरूको एक टोलीले पहिला भइसकेका अनुसन्धानका साथै जिभास्किलामा मार्क एलेनले गरेको अनुसन्धानसमेतलाई ध्यानमा राखेर डोपिङले दीर्घ रूपमा विमिन्न अङ्ग खराब हुने स्पष्ट भएको विश्लेषण गरेर यसलाई हलुका तवरमा लिन नसकिने र गम्भीर भएर कदम चाल्नुपर्ने बेला भएको सङ्कल्प पारित गरेको थियो । यस सङ्कल्पबाट यस्ता तत्वको डोपिङमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणालाई बल पुग्यो ।

एचसिजी– यो गर्भावस्थामा सालनालबाट उत्पादन हुने हर्मोन हो । यसको उत्पादन थोरै मात्रामा पिट्युटरी ग्रन्थी, कलेजो र ठूलो आन्द्रामा पनि हुन्छ । यसले गर्भावस्था कायम राख्न प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्न ल्युटियमलाई उत्तेजित गर्दछ । टेस्टोस्टेरोनको  मात्रा उकास्न, पुरुष जननेन्द्रियको लम्बाइ वृद्धि गर्न, वीर्य वृद्धि गर्न, स्टेरोइड चक्र पूरा गरेपछि खुम्चेर सानो भएको अण्डकोष पूर्ववत् बनाउन तथा श्रीमतीलाई मातृसुख दिन असक्षम बनेका पुरुषले त्यस अवस्थाको उपचार गर्न यस हर्माेनको प्रयोग गर्छन् ।

एसिटिएच– यो हर्मोन पिट्युटरी ग्रन्थीबाट श्रावित हुन्छ । तनावको अवस्थामा शरीरले कसरी प्रतिक्रिया जनाउने बारे यसले ठूलो भूमिका निर्वाह गर्दछ । एसिटिएचको प्रवाहले एड्रेनल ग्रन्थीलाई कोर्टिसोल (स्ट्रेस हर्मोन) र एन्ड्रोजिन (यौन हर्मोन) श्रावित गर्न प्रोसाहित गर्छ । यसको बढी डोपिङले स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

एचजिएच– यो हर्मोन पिट्युटरी ग्रन्थीबाट श्रावित हुन्छ । यथेष्ठ व्यायाम, गाढा निद्रा र एमिनो एसिडमध्येको एक अर्जिनाइनको सही समायोजनबाट यो हर्मोन श्रावित हुने गर्छ । सुतेको दुई घण्टाको गाढा निद्राको अवस्थामा यो हर्मोन श्रावित हुन्छ । युवावस्थामा यो हर्मोन प्रचुर मात्रामा श्रावित हुने गर्छ । यसको ठूलो मात्राले एक्रोमेघाली वा जाइग्यान्टिज्मको समस्या आउँछ । डब्लुडब्लुई रेसलर दी ग्रेट खलीलाई एक्राेमेघालीको समस्या छ । चिउँडो अघिल्तिर निस्कनु, बङ्गारा फैलिनु, निधार ठूलो र अघिल्तिर निस्कनु, हत्केला र गोडा तथा औँला ठूलो आकारको हुनु र बोल्न कठिनाइ हुनु आदि यसका लक्षण हुन् ।

भासोप्रेसिन– यसलाई एन्टिड्युरेटिक हर्मोन (एडिएच) वा अर्जिनाइन भासोप्रेसिन (एविपी) पनि भनिन्छ । यस हर्मोनले शरीरमा पानीको सन्तुलन तथा रक्तचाप र सोडियमलाई विनियमित गर्दछ । यसको गम्भीर दुष्प्रभावमा अचानक जीवन खतरामा पर्ने गरी सम्पूर्ण शरीरमा एलर्जिक प्रतिक्रिया हुन सक्छ, गला सुन्निएर श्वास फेर्न नसक्ने पनि हुन सक्छ ।

ब्लड डोपिङ– रक्त डोपिङले रगतमा अक्सिजन बोक्ने प्रोटिन, हेमोग्लोबिनको मात्रा बढाउँछ । बढी अक्सिजन बोकेको रगतले मांसपेशीलाई बढी इन्धन आपूर्ति गर्छ र खेलाडीको सामथ्र्य र प्रदर्शनमा सुधार आउँछ । प्रायः लामो दूरीका धावक तथा साइकल रेसरहरू यस विधिलाई अपनाउँछन् । यी खेलका ओलम्पिक खेलाडीले   यसको दुष्परिणामले जीवन गुमाएका पनि छन् ।

रगतसारी (ब्लड ट्रान्सफ्युजन) दुई प्रकारबाट गरिन्छ । अटोलोगस विधि अन्तर्गत खेलाडीको आफ्नै रगत झिकेर भण्डारण गरिन्छ र पछि प्रतियोगिताका बेला पुनः प्रयोग गरिन्छ । होमोलोगस विधिमा एउटै रक्तसमूहको अन्य कसैको रगत भण्डारण गरेर पछि प्रयोग गरिन्छ ।

यी नकारात्मक प्रभाव एकातिर छन् तर यथेष्ट व्यायाम गर्दाको बेला श्रावित हुने विभिन्न हर्मोन, रासायनिक यौगिक, इन्जाइम आदिले मानिसको स्वास्थ्यमा सकारात्मक भूमिका निर्वाह गर्छन् । तीमध्ये केही यस प्रकार छन् :

  • टिस्यु प्लाजमेनोजेन एक्टिभेटोर (टिपिए) : यो शरीरमा निर्माण हुने एक इन्जाइम हो । जसले रक्तथेक्ला (ब्लोड क्लोट्स) लाई घुलित गराउँछ । प्रयोगशालामा निर्माण गरिने यस इन्जाइमले हृदयाघात, मस्तिष्कघात र फोक्सोमा बन्ने थेक्लाको उपचार गरिन्छ । पाँच मिनेटको कडा व्यायामले टिपिएको सतहलाई ९० मिनेटसम्म उच्च बनाई राख्छ ।
  • एन्डोर्फिन : यो रसायन (हर्मोन) हो । यो मस्तिष्कको पिट्युटरी ग्रन्थी र हाइपोथ्यालेमसबाट श्रावित हुने न्युरोट्रान्समिटरमा हो । एक घण्टा कडा व्यायाम गर्दा एन्डार्फिनको सतह १४५ प्रतिशतसम्म वृद्धि हुन्छ । व्यायामबाहेक अन्य रमाइला गतिविधि जस्तै मसाज गराउँदा, मिष्ठान्न भोजन खाँदा वा सम्भोगका बेला र योग गर्दा पनि यो श्रावित हुन्छ ।
  • डोपामाइन : यो एक हर्मोन र न्युरोट्रान्समिटर हो । यसलाई डोपामिन कोष र मस्तिष्कबाट निस्कने स्नेही हर्मोन मानिएको छ । डोपामाइनले आनन्दको अनुभूति, सन्तुष्टि र प्रेरणाको भावना दिन्छ ।

सेराटोनिन, डोपामाइन, अक्सिटोसिन र एन्डोरफिन लाई ‘फिल गुड’ हर्मोन पनि भनिन्छ ।

उपरोक्तबाहेक पनि अन्य रसायन,  हर्मोन र न्युरोट्रान्समिटर कडा व्यायाम गर्दा श्रावित हुन्छन् ।    

–युवामञ्च    

Author

शिवलाल श्रेष्ठ प्रथम मी. नेपाल