गजेन्द्र गुरुङ
खजुरा, माघ ११ गते। बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।
बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको जानकारी दिनुभयो।
“हाम्रो टोली दैनिक गस्तीकै क्रममा उक्त स्थानमा पुग्दा पाटेबाघ मृत अवस्थामा पाइयो, भाले जातिको बाघ हो, बाघ ठूलै छ, ७३ ईन्च लम्बाइ रहेको छ।” सूचना अधिकारी पंगेनीले भन्नुभयो, “बाघ अन्दाजी १२/१३ वर्ष पुगेको जस्तो देखिन्छ, आफ्नै कालगतीले मरेको जस्तो देखिन्छ।”
उहाँले मृत बाघलाई निकुञ्ज कार्यालयमा ल्याएर पोष्टमार्टम गर्न लागिएको बताउनुभयो।
“सरसर्ती हेर्दा प्राकृतिक मृत्यु जस्तो देखिन्छ, मृत बाघलाई निकुञ्ज कार्यालयमा ल्याएर पोष्टमार्टम गर्दैछौँ, दुई दिन अघि मृत्यु भएको जस्तो छ, बाघको पछिल्लोतिरको केही भाग अन्य जनावरले खाएको जस्तो देखिन्छ।”
उहाँले भन्नुभयो, “भाले प्रजातिकै अर्को बाघसँगको लडाइँमा मरेको पनि हुनसक्छ, पोष्टमार्टम रिपोर्ट आएपछि सबै कुराको जानकारी आउनेछ।”
बर्दिया राष्ट्रिय निकुञ्जबाट भेटेनरी डाक्टरलाई बोलाएर बाघको पोष्र्टमाटम गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।