• ११ माघ २०८१, शुक्रबार

वैदेशिक लगानीको सम्भावना

blog

समृद्ध नेपाल निर्माणका लागि लगानी अपरिहार्य हुन्छ । आर्थिक विकासका लागि पर्याप्त लगानी गर्न सके यसले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आय वृद्धि हुन गई देश आर्थिक समुन्नतितर्फ अगाडि बढ्ने छ । नेपाल विकासशील राष्ट्र भएकाले पर्याप्त लगानी गर्न सक्ने अवस्था छैन । तसर्थ दिगो आर्थिक विकासका लागि वैदेशिक लगानीलाई महत्वपूर्ण आधारको रूपमा लिन सकिन्छ । वैदेशिक लगानीमा आर्थिक पक्षका साथै प्रविधि पनि आयात हुने भएकाले यहाँका उद्योग व्यवसायको क्षमतासमेत अभिवृद्धि हुने हुँदा समग्रमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आय वृद्धि हुन गई देश आर्थिक समृद्धितर्फ उन्मुख हुन्छ ।

अपार स्रोत र साधनको सम्भावना बोकेको हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण नहुँदा समृद्ध राष्ट्रनिर्माणमा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसो त समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्ने प्रयत्न हुँदै नभएको भने होइन तर त्यस्ता प्रयास र पहल प्रभावकारी सिद्ध हुन सकेनन् । त्यसैले समृद्ध र सबल राष्ट्रनिर्माणका लागि वैदेशिक लगानी भित्र्याउनु अहिलेको अपरिहार्य आवश्यकता हो र यसतर्फ राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनु पर्छ । यसका साथै सन् २०३० सम्म विकासशील राष्ट्रको रूपमा स्तरोन्नति हुन पनि दिगो विकास गर्नुपर्ने आजको बाध्यात्मक आवश्यकता हो । यसका लागि सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबाट बर्सेनि खर्बौं रकम खर्च गर्नुपर्ने हुन्छ । जुन नेपालको वर्तमान अर्थव्यवस्थाले धान्न नसक्ने भएकाले पनि वैदेशिक लगानी आजको अपरिहार्य आवश्यकता हुन गएको छ ।

विदेशी लगानीकर्ताले लगानी गर्नुअघि केही प्रमुख विषयको जानकारी लिने गर्छन् । कुनै पनि मुलुकमा जानुअघि लगानीकर्ताले त्यो मुलुकको कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो आउँछ भनेर हेर्ने गर्छ । सरकारले लगानीको वातावरण बनाएको छ वा छैन, व्यावसायिक वातावरण कस्तो छ भन्ने चासो पनि उनीहरूको हुन्छ । मजदुर, कर्मचारीको हडताल र विरोध गर्ने शैली र समन्वय तथा समाधानमा सरकारी तदारुकता सम्बन्धमा लगानीकर्ताको ठुलो चासो हुन्छ । सरकारले ल्याएका नियम–कानुन जटिल भए/नभएकोमा पनि उनीहरूको ध्यान जाने गर्छ । लगानीकर्ताको सबैभन्दा ठुलो चासो आर्जन गरेको नाफा र लगानी फिर्ता लैजाने नीति सहज भए/नभएको तर्फ हुन्छ । 

विदेशी लगानीकर्ताले कुनै मुलुकमा लगानी गर्नु कतिको सुरक्षित छ भनेर मूल्याङ्कन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् । हालै मात्र नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’  (बिबी) स्कोर प्राप्त गरेको छ । यसबाट नेपाल रेटिङ मुलुक बन्नुका साथै नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको सन्देश दिएको छ । यसका साथै सरकारले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्नुका साथै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी र लगानी ऐन तथा विशेष आर्थिक क्षेत्र ऐनमा सुधार गरेको छ । हालै मात्र सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई अध्यादेशमार्फत संशोधन गरी वैदेशिक लगानीलाई अझ सरल र सहज वातावरण बन्ने विश्वास गरिएको छ ।

वैदेशिक लगानीको महत्व

नेपाल भौगोलिक, सांस्कृतिक, र जैविक विविधता भएको देश हुनुका साथै न्यून आर्थिक स्रोत भएकाले देशको आर्थिक विकासमा वैदेशिक लगानीको महत्व अझ बढ्न गएको छ । वैदेशिक लगानीको महत्वका केही प्रमुख पक्ष निम्नानुसार छन ।

रोजगारी सिर्जना : वैदेशिक लगानीले नयाँ उद्योगहरू स्थापना गर्न, उद्योगको क्षमता विस्तार गर्न, नयाँ प्रविधि अङ्गीकार गर्न तथा उत्पादनमूलक क्रियाकलाप वृद्धि गरी रोजगारीका नयाँ अवसर सिर्जना गर्छ । जसले युवा जनशक्ति वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा कमी ल्याउन सहयोग पु¥याउँछ ।

प्रविधिको हस्तान्तरण : वैदेशिक लगानीसँगै विदेशी प्रविधि, व्यवस्थापन प्रणाली र उत्पादनका आधुनिक प्रविधि नेपालमा आउँछन् । यसले नेपालको औद्योगिक र व्यावसायिक दक्षता वृद्धि गर्न सहयोग पु¥याउँछ ।

वैदेशिक मुद्रा आर्जन : वैदेशिक लगानीले नेपाललाई विदेशी मुद्रामा आय गर्न मद्दत गर्छ । विशेष गरी निर्यातमुखी उद्योगमा गरिएको लगानीले देशलाई विदेशी मुद्रा आर्जनमा ठुलो सहयोग पुर्‍याउँछ ।

आर्थिक वृद्धि : वैदेशिक लगानीले उत्पादन तथा निर्यातमा वृद्धि गरी नेपालको समग्र आर्थिक वृद्धिलाई बलियो बनाउन सहयोग पु¥याउँछ । लगानीकर्ताले उद्योग र सेवा क्षेत्रमा पुँजी लगानी गर्दा देशको आर्थिक परिधि फराकिलो हुन्छ ।

विकासको दिगो मोडेल : वैदेशिक लगानीले देशको आर्थिक संरचनामा विविधता ल्याउँछ । जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्र जस्ता दिगो विकासका क्षेत्रमा वैदेशिक लगानीको उपयोगले दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पु¥याउँछ ।

वैदेशिक लगानीका प्रमुख क्षेत्र

नेपालका विभिन्न क्षेत्रमा वैदेशिक लगानी आकर्षण गरिएका छन् । तीमध्ये केही प्रमुख क्षेत्र निम्न छन् :

ऊर्जा क्षेत्र : नेपाल जलस्रोतमा धनी मुलुक हो, जहाँ करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ । जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जामा लगानी गर्न विदेशी लगानीकर्ताका लागि ठुलो अवसर छ । नेपालबाट छिमेकी राष्ट्र भारत र बङ्गलादेशमा विद्युत् निर्यात हुन थालिसकेकाले वैदेशिक लगानीकर्ताले यो क्षेत्रबाट दीर्घकालीन फाइदा लिन सक्छन् । 

कृषि तथा कृषिमा आधारित उद्योग : कृषि नेपालको सबैभन्दा ठुलो आर्थिक क्षेत्र हो, जसले लगभग २७ प्रतिशतमा योगदान पु¥याउँछ र ६० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई रोजगारी दिन्छ । कृषिमा आधुनिकीकरण र यसमा आधारित उद्योग जस्तै : खाद्यान्न प्रशोधन, पैकेजिङ र निर्यातमुखी कृषि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने ठुलो सम्भावना छ ।

पर्यटन उद्योग : नेपाल विश्वभरि आफ्नो हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका लागि प्रख्यात छ । नेपालमा इको–टुरिजम, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन र स्वास्थ्य पर्यटन (योग तथा ध्यान केन्द्र) मा ठुलो सम्भावना छ । तसर्थ उच्चस्तरीय होटल, रिसोर्ट तथा पर्यटन पूर्वाधार निर्माणमा विदेशी लगानीकर्तालाई आकर्षण गर्न सकिन्छ ।

सूचना तथा सञ्चार प्रविधि : सूचना प्रविधि क्षेत्र नेपालमा तीव्र गतिमा विस्तार हुँदै छ । सस्तो र दक्ष जनशक्तिको उपलब्धता, आधुनिक पूर्वाधार, दक्ष जनशक्तिको मागमा वृद्धिका कारण विदेशी सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले विजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर विकास, डाटा सेन्टर, इ–कमर्सलगायतका क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना छ ।

उद्योग : आर्थिक समृद्धिका लागि औद्योगिक विकास आधारभूत तìव हो । नेपालको पूर्वाधार उद्योग, उत्पादन उद्योग र सेवा उद्योग क्षेत्र पूर्ण रूपमा विकास भएको छैन तर यी महìवपूर्ण सम्भाव्य क्षेत्र हुन् । कपडा, सिमेन्ट, औषधी उत्पादन र कृषि उत्पादन प्रशोधन जस्ता निर्यातमुखी उद्योग, सडक, पुल, जलविज्ञान पूर्वाधार र स्मार्ट सहर जस्ता परियोजना तथा बैङ्क, बिमा, अस्पताल र शिक्षण संस्थान जस्ता क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न सक्ने सम्भावना प्रबल देखिन्छ ।

यातायात : कृषि उत्पादन, पर्यटन विकासका प्रसस्त सम्भावना भए तापनि भौगोलिक कारणले यातायात पूर्वाधारको विकास हुन सकिरहेको छैन । तसर्थ सडक मार्ग विस्तार, रेल यातायात, आन्तरिक हवाई सेवा र सार्वजनिक यातायातको विकासमा वैदेशिक लगानीकर्ताका लागि ठुलो सम्भावना छ । 

खानी तथा खनिज : नेपालको भौगोलिक संरचनाले गर्दा खानी तथा खनिज क्षेत्रमा उल्लेखनीय सम्भावना छ । पेट्रोल, प्राकृतिक ग्यास, सुन, चाँदी, तामा, सिसा, जस्ता र अन्य खनिज सम्पदा प्रशस्त रहेको मानिन्छ । खानीहरूको अन्वेषण, खनिज प्रशोधन र निर्यातमुखी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने सम्भावना रहेको छ ।

वैदेशिक लगानीको स्थिति

नेपालमा सन् १९९५/९६ देखि २०२२/२३ सम्म कुल वैदेशिक लगानी प्रतिबद्धता ४४२ अर्ब रहेकोमा वास्तविक लगानी १५४ अर्ब जुन प्रतिबद्धताको ३५ प्रतिशत मात्र भएको देखिन्छ । नेपालले विदेशी लगानीलाई प्रोत्साहन गरेपश्चात् सुरुका वर्षमा प्रतिबद्धताको दाँजोमा ज्यादै न्यून मात्रामा लगानी आउने गरेको तथ्य नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने ३०० अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा १५४ अर्बको अर्थात् कुल प्रतिबद्धताको ५१.५ प्रतिशत मात्र आएको देखिन्छ । उक्त अवधिमा एकाध वर्षबाहेक प्रत्येक वर्ष भित्रिएको वैदेशिक लगानी घट्दो अवस्थामा रहेको देखिन्छ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमध्ये भारतबाट सबैभन्दा बढी ३५ प्रतिशत र त्यसपछि चीनबाट १२ प्रतिशत, आयरल्यान्डबाट ७.७ प्रतिशत, अस्ट्रेलियाबाट ६.४ प्रतिशत र सिङ्गापुरबाट ६.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी आएको देखिन्छ । वैदेशिक लगानीलाई प्रोत्साहित गरिएको सुरु अवधिदेखि २०७८/७९ सम्म विदेशी लगानी स्वीकृतिको कुल सङ्ख्या पाँच हजार ५३३ रहेको छ भने त्यसबाट दुई लाख ९२ हजार १२० रोजगारी सिर्जना भएको उद्योग विभागबाट प्रकाशित विवरणमा उल्लेख गरिएको छ । यसमध्ये ठुला उद्योगको दर्ता सङ्ख्या ३२२, मझौला उद्योग ६०३ र साना उद्योग दर्ता सङ्ख्या चार हजार ६०८ रहेको देखिन्छ । नेपालमा विगत पाँच वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमा केही वृद्धि भए पनि प्रतिबद्धता र वास्तविक लगानीबिच ठुलो अन्तर रहेको देखिन्छ ।

समस्या, चुनौती र समाधान

नेपालले प्रत्यक्ष वैदेशिक लागानी भित्र्याउन नीतिगत, कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गर्नुका साथै समय समयमा लगानी सम्मेलन गरेर वैदेशिक लगानीलाई आकर्षित गर्ने गरेको छ । जसका कारण विश्वका विभिन्न मुलुकका लगानीकर्ता नेपाल आएर लगानीको प्रतिबद्धता जनाउने गरेको देखिन्छ । तर वास्तविक रूपमा कम्पनी स्थापना गरी लगानी ल्याउने चरणमा झन्झटिलो दर्ता तथा प्रशासनिक प्रक्रिया, निर्णय हुन लामो समय लाग्नुका साथै पटक पटक धाउनुपर्ने जस्ता कारणले लगानीकर्ता विमुख हुने गरेको देखिन्छ ।

त्यसै गरी वैदेशिक लगानी आकर्षित गर्ने कुरामा कर्मचारीको कार्यशैली, कर्मचारीको छिटो छिटो सरुवा हुने, चाँडो चाँडो सरकार परिवर्तनले लगानीकर्तासँग गरिने व्यवहार पनि फरक हुने, ऐन नियममा उल्लेख भएका सुविधा तथा व्यवस्था कार्यान्वयन हुन्छन् भन्ने कुरामा उनीहरूसँग हुने व्यवहारका कारण नेपालमा लगानी गर्न विश्वस्त हुन नसकेको बुझ्न सकिन्छ । विदेशी लगानीकर्तालाई आकर्षण गर्न नसक्नुमा फरक फरक दलगत धारणा भएका कारण एकीकृत राष्ट्रिय धारणा नबन्नु अर्को प्रमुख कारण रहेको छ । साथै सानो आन्तरिक बजार र सम्भाव्य नजिकको बजारमा प्रवेश भरपर्दो, अनुमानयोग्य र सहज नभएकाले लगानीकर्ता बिस्तारै पछाडि फर्कनुपर्ने अवस्था सिर्जना गरेको छ । सडक, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारको अभाव, उच्च उत्पादन लागत, दक्ष श्रमिकको अभाव, स्थानीय समुदायको हस्तक्षेप र पर्यावरणीय प्रभावको जटिलताका कारणले पनि लगानीकर्ता विश्वस्त हुन नसकेको हुन सक्छ ।

नेपालको समग्र आर्थिक विकासका निम्ति अपर्याप्त पुँजी व्यवस्थापनको भरपर्दो स्रोत वैदेशिक लगानीको हो । वैदेशिक लगानीमा पुँजी, प्रविधि, प्राविधिक र सिपसमेत भित्रिने भएकाले देश विकासमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कम्पनी स्थापनामा प्रक्रियागत सरलीकरण र अनलाइन दर्ताको व्यवस्था, लगानीको सुरक्षा, सहज रूपमा प्रतिफल लान सक्ने व्यवस्था, विदेशी श्रमिकलाई भिसामा सहजीकरणलगायतका वैदेशिक लगानीमा देखिएका समस्याको समाधान गर्न सकेमा कृषि, पर्यटन, ऊर्जा, उत्पादन, पूर्वाधार, सेवा, खानी तथा खनिज, यातायात र सूचना प्रविधि जस्ता क्षेत्रमा वैदेशिक लगानीकर्ता आकर्षित गरी दीर्घकालीन फाइदा लिन सकिन्छ ।