गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १० गते । नेपाल समाजवादी पार्टी ओखलढुङ्गाका संस्थापक अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । वाग्लेलाई बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँकै निवास बुढानीलकण्ठमा स्वागत गर्नुभएको हो ।
सभापति देउवाले वाग्ले आफ्नै मूल घरमा फर्किएकोमा खुसी व्यक्त गर्दै विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै थप क्रियाशील भएर पार्टीको हितमा लाग्न वाग्लेलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले वाग्लेको पार्टी प्रवेशले ओखलढुङ्गा कांग्रेसलाई थप बल पुग्ने बताउनुभयो ।
ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का स्थानीय वाग्ले नेपाल वैदेशिक रोजगार व्यावसायी महासङ्घ पूर्व अध्यक्ष हुनुहुन्छ। समाजवादी पार्टी ओखलढुङ्गाको संस्थापक अध्यक्ष बन्नु अघि बाग्ले नेपाली कांग्रेस सम्बद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनको पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।
वाग्ले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला कार्य समितिको पूर्व सदस्य तथा नेपाली कांग्रेस ओखलढुङ्गाको क्षेत्रीय प्रतिनिधिमा दुई पटक निर्वाचितसमेत हुनुभएको थियो ।
समाजवादी पार्टी गठनसँगै कोशी प्रदेश समिति सदस्य चयन हुनुभएका वाग्ले समाजवादी पार्टी कोशी प्रदेशका इन्चार्जसमेत रहनुभएको थियो ।