• ४ जेठ २०८१, शुक्रबार

नवलपुरमा एमाले पहिलो र कांग्रेस दोस्रो

blog

मीना कँडेल

कावासोती, जेठ ११ गते । स्थानीय तह निर्वाचन–२०७९ पछि पूर्वी नवलपरासीमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ ।

त्यस्तै, ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । 

जिल्लामा नेपाली कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो । नवलपुरमा कांग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ ।

जिल्लाका ४१ वडामा कांग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन् । जिल्लाका स्थानीय तहमा कांग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२ दशमलब ६५ प्रतिशत रहेको छ । 

जिल्लामा नेकपा माओवादी केन्द्रले दुई वडाध्यक्ष, दुई महिला सदस्य र एक दलित महिला सदस्य गरी जम्मा पाँच जनप्रतिनिधि मात्रै जितेको छ । यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, चार खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य गरी सात जनप्रतिनिधि जितेको छ । राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति एक दशमलव ४७ प्रतिशत रहेको छ । नवलपुरमा राष्ट्रिय जनमोर्चाले एक खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति शून्य दशमलब २१ प्रतिशत छ ।